गणेश खड्का
सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा भारतीय नम्वर प्लेटको स्कारपीयोको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । बबरगञ्जबाट बयलवास बजारतर्फ आउँदै गरेको बीआर ३० पि २४५९ नम्वरको स्कारपीयोे ठक्कर दिँदा ज २ प ६४५२ नम्वरको मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका २,बबरगञ्जका अन्दाजी ४५ वर्षीय मनोज महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्कारपीयोको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई बयलवासको नगर अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि लालगढ अस्पताल धनुषा पुर्याउँदा लालगढ अस्पतालका चिकित्सकले महतोलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियारले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा संग्लग्न सवारी साधन र सोका चालक सिरहाको रामपुरविर्ता ४ भई हाल इश्वरपुर नगरपालिका १३ का अन्दाजी वर्ष ४५ का किशोर महतो इलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासको नियन्त्रणमा रहेका छन् । मृतक मोटरसाइकल चालक महतोको शव लाई पोष्मार्टमको लागि जिल्ला अस्पताल मलंगवामा ल्याई सकिएको प्रहरीले जनाएको छ ।