Close This

सर्वदलीय संयन्त्रको प्रस्ताव गर्नेहरु कुण्ठाग्रस्त मानसिकताका हुन्ः प्रधानमन्त्री ओली

पत्र पत्रिका    प्रकाशित: २०७७-१-७ गते   ४०४ पटक हेरिएको

प्रधामन्त्री केपी ओलीले सर्वदलीय संयन्त्रको प्रस्ताव गर्नेहरुको मानसिकता कुण्ठाग्रस्त रहेको आरोप लगाएका छन् ।आफ्नै पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि कोरोना भाइरसको अहिलेको संकटसँग जुध्न सरकार एक्लैले नसक्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको संलग्नतामा सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए ।

दाहालबाहेक समाजवादी पार्टी, राजपा, राप्रपा, साझा पार्टीलगायतले सर्वदलीय संयन्त्र बनाउन माग गर्नेहरुप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अहिले उच्चस्तरीय राजनीतिक संयन्त्रको कुरा गर्नु कुण्ठाग्रस्त मानसिकताको उपज भएको बताएका हुन् ।राष्ट्रिय समाचार समिति (रासस) सहितका सरकारी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले संसारका कुनै पनि देशमा कोरोना महामारीसँग लड्न त्यस्तो संयन्त्र नबनेको दलील पेश गरे ।

कोरोना भाइरसको सामनाका लागि उच्चस्तरीय संयन्त्र गठनको कुरा पनि आएको छ तर तपाईँले किन त्यसलाई अस्वीकार गर्नुभएको भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘यो प्रश्न म तिनैलाई सोध्न चाहन्छु कि आज कोरोनाविरुद्धको लडाइँमा कुन देशमा यस्तो संयन्त्र गठन भएको छ ? विश्वका कतिपय देशमा संयुक्त सरकार छन्, कुनै अल्पमतका सरकार छन् । त्यस्तो अवस्थामा पनि कुनै मुलुकमा सरकारभन्दा माथि अर्को संयन्त्र छ ? कुन प्रजातान्त्रिक वा व्यवस्थाको मुलुकको छ ?’

मैले नेतृत्व गर्न, लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकताबाहेक केही होइन भन्दै उनले थपे, ‘जबकि नेपालको वर्तमान सरकार दुई तिहाई नजिकको बहुमत र जनादेशप्राप्त सरकार हो । सरकारले कोरोनाविरुद्ध चालेका कदममा सबै राजनीतिक दल, क्षेत्र र आम जनताको समर्थन र सहकार्य छ । सबैबाट आएका उपयुक्त सुझावलाई ग्रहण गर्न सरकार तयार छ  । सरकारले उचित समन्वय गरिरहेको छ। सरकारले संविधान र कानूनअनुसार उत्तरदायित्व पूर्णरूपमा  काम गर्छ । त्यसैका लागि जनतासँग शपथ लिएको सरकार हो यो । अब एकाध दम्भपूर्ण अभिव्यक्ति बेग्लै कुरा हुन् । नागरिक समाज पनि राख्नुपर्ने भनिएको छ ? अनि कुन नागरिक राख्ने वा छुटाउने ? त्यसो भए सबै नागरिक स्वतः सदस्य रहेको एक संयन्त्र बनाऊँ, जसको अध्यक्षता प्रधानमन्त्रीले गर्छ । अन्यथा मैले नेतृत्व गर्न, लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकता मात्रै हो । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’

यसअघि नेकपा अध्यक्ष दाहालले ईमेज च्यानलसँगको अन्तर्वार्तामा कोरोनाभाइरसको महामारीविरुद्ध लड्न सरकार एक्लै नसक्ने भन्दै सबैलाई सामेल गर्न उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउनुपर्ने बताएका थिए ।दाहालले आफूले यही प्रस्ताव प्रधानमन्त्रीसमक्ष पनि राखेको बताएका थिए । तर प्रधानमन्त्री ओली भने यस्तो प्रस्ताव सुन्न पनि तयार छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेसले यस्तो संयन्त्रको त माग गरेको छैन तर राहत वितरणमा सरकारले एकलौटी गरेको भन्दै केन्द्रदेखि स्थानीय तहसम्मै साझा संयन्त्र बनाउन माग गरेको छ ।इमेजखबर

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech