सर्लाही सदरमुकाम मलंगवामा निर्माण सुरु भएको घरेलु तथा साना उद्योगको कार्यालय निर्माण कार्य अलपत्र परेको छ।आर्थिक वर्ष ०७८।०७९ मा करिब डेढ करोडको लागतमा भवन निर्माण गर्न भन्दै घरेलु तथा साना उद्योगको कार्यालयको भवन सिलान्यास गरिएको भएपनि सरोकारवाला निकायले चासो नदेखाउँदा भवन निर्माण कार्य अलपत्र परेको हो ।
सहरी विकास तथा भवन कार्यालयबाट रु एक करोड ४७ लाख ६५ हजार नौ सय ७७ बजेट प्राप्त भएको र सो बजेटबाट कार्यालयको भवन निर्माण गर्न शिलान्यास गरिएको भएपनिअहिले पिलर उठाएर भवन निर्माणको काम अलपत्र पारिएको स्थानीयले बताएकाछन् ।
मलंगवा नगरपालिका २, स्थित वडा कार्यालय नजिकै राम कविर मठको जग्गामा आठ कोठे कार्यालय भवनको मठका महन्थ देवलाल दास बैरागी,मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव,सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,घरेल तथा साना उद्योग कार्यालय मलंगवाका तत्कालीन प्रमुख जितेन्द्र किशोर गुप्ता,मलंगवा नगरपालिका २ का वडाध्यक्ष धीरेन्द्र साह लगायतले संयुक्त रुपमा भवनको शिलान्यास गरेका थिए ।
हाल मलंगवा नगरपालिका ८ स्थित भाडाको घरबाट सेवा प्रवाह गरि रहेको घरेलु तथा साना उद्योग कार्यालय मलंगवाको आफ्नै भवनका लागि सहरी विकास तथा भवन कार्यालयबाट आएको रु एक करोड ४७ लाख ६५ हजार नौ सय ७७ बजेटको काम भएको वा नभएको भन्ने एकिन समेत हुन सकेको छैन् ।
आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा निकै समस्या भएको कार्यालयलाई आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहमा र सेवाग्राहीहरुलाई सेवा लिन पनि सहज हुने अपेक्षा गरिएको भएपनि भवन निर्माणको काम अलपत्र पर्दा सेवाग्राही थप निरास भएका छन् ।