Close This

भारतीय सीमादेखि हरिवन हुँदै मदन भण्डारी लोकमार्ग जोड्ने सडक स्तरोन्नतीको पहल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१२ गते   २७५६ पटक हेरिएको

सर्लाहीको हरिवन हुदै सिन्धुलीको हरिहरपुरगढी गाउापालिका अन्र्तगत क्यानेश्वर हुँदै मदन भण्डारी लोकमार्ग जोड्ने शाखा सडकको कालोपत्रे एवम पुल निर्माणका लागि पहल थालिएको छ । सर्लाहीको भारतीय सीमा दशगजादेखि सिन्धुलीस्थित मदन भण्डारी लोकमार्गसम्म सडक सञ्जाल जोड्नका लागि नेपाली कांग्रेसका नेताहरुले पहल थालेका हुन् । 
यसअघि हरिवन–क्यानेश्वर सडकलाई लोकमार्गसँग जोड्न पहल थालेका कांग्रेस नेताहरुले दोस्रो पटक सीमावर्ती क्षेत्रमा पर्ने विष्णु गाउँपालिका र कौडेना गाउँपालिकाका अध्यक्षहरुसँग भेटवार्ता गरी सीमादेखि कै सडकलाई मुख्य सडकमा जोड्न पहल सूरु गरेका छन् । मरिण तथा हरिहरपुरगढी क्षेत्रका स्थानिय नागरीकको दैनिकीका लागि सर्लाहीको लालबन्दी र हरिवन मुख्य बजार भएपनि सोक्षेत्रमा सहज रुपमा सवारी साधन सञ्चालन नहुँदा सो क्षेत्रका स्थानिय मर्कामा परेका थिए ।
कांग्रेसका पूर्व पार्टी जिल्ला उपसभापति विनोद खनालसहितका नेताहरुले विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय र कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद यादवसँग भेटवार्ता गर्न पुगेका थिए । स्थानिय सरकारका मौनतालाई ध्यानमा राखी कांग्रेसका नेताहरु आफैँले सडक सञ्जाललाई जोड्ने पहल शुरु गरेका हुन ।  
त्यसक्रममा दुवै गाउँपालिकाका अध्यक्षले भविष्यमा लाईफ लाईन बन्न सक्ने हरिवन–कौडेनाहुँदै सीमरा फेन्हरासम्मको सडकलाई मदन भण्डारी लोकमार्गसँग जोड्ने अभियानमा लागि पर्ने प्रतिवद्धता जनाएका छन् । दुवै अध्यक्षले डीपीआर निर्माणका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
हरिवनदेखि सीमरा फेन्हरासम्मको सडक अन्तर्गत पर्ने हरिपुर, बरहथवा, चक्रघट्टा तथा हरिवनबाट सिन्धुलीको हरिहरपुरगढीसम्मका जनप्रतिनिधिहरुसँग छलफलको तयारी पनि गरिएको कांग्रेस नेता खनालले कमलामाई मिडिया प्रालिलाई बताउनु भयो । विष्णु र कौडेना गाउँपालिकाका अध्यक्षसँग भेट गर्न नेता खनालसँगै कांग्रेस नेता दीलिप राज भण्डारी, नेताहरु भिखारी राय, रमेश भट्टराई, मुकुन्द थपलिया, चेतन रिजाल लगायत कौडेना हुँदै सीमरा फेन्हरासम्म पुगेका थिए ।
सडक संरचना पहिलादेखिकै भएकाले खाली विस्तार तथा कालोपत्रे एवम पुल पुलेसा निर्माण गर्नुपर्ने भएकाले भारतीय सिमाक्षेत्रदेखि प्रदेश २ हुँदै बागमती प्रदेशको मदन भण्डारी लोकमार्गसम्म जोड्ने सडक स्तरोन्नती गर्दा आर्थिक, सामाजिक, साँस्कृतिक र भौगोलिक रुपमा ठूलो कायापलट हुने नेता खनालले बताउनु भयो । सम्बन्धित सबै स्थानीय तह मिलेर सडक स्तरोन्नतीको डीपीआर निर्माणका लागि बजेट छुट्याउने तथा डीपीआर अनुसारको बजेट संघीय र प्रदेश सरकारबाट छुट्याउनका लागि पहल गर्ने जनप्रतिनिधिहरुले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech