सर्लाहीको कविलासी नगरपालिका ७, सिरसियाका २ सय १ दलित तथा अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग प्राप्त भएको छ । सूजी फाउंडेसन ताईवान नामक सामाजिक संस्थाले कविलासी नगरपालिका ७, सिरसियाका २ सय १ दलित तथा अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
फाउण्डेशनले दलित सरोकार मञ्च, सप्तरीको समन्वयमा सिरसियाका अतिविपन्न तथा दलित परिवारहरुलाई छनौट गरी खाद्यान्न वितरण गरेको भौतिक पुर्वाधार विकास मन्त्रालय जनता आवास कार्यक्रमका सदस्य महेश पासवानले जानकारी दिनु भयो । उनिहरुलाई चामल,पिठो,नुन,चिनि,दाल,चना र नुहाउने साबुन वितरण गरिएको पासवानले बताउनु भयो ।
विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण समस्यामा परेका सर्लाहीका १५ वटा स्थानिय निकायका विपन्न तथा दलित परिवारहरुलाई फाउण्डेशनले सहयोग गरेको पासवानले जानकारी दिनु भयो । उहाँका अनुसार छनौटमा परेका स्थानिय निकायहरुमा राहत स्वरुप खाद्यान्न वितरणको काम धमाधम भईरहेको छ ।