सिन्धुलीको तीनपाटन गाउँपालिका २ मा रहेको ओम शान्ति हेल्थ केयर अस्पतालको लापर्वाहीका कारण ७ महिने वालकको ज्यान गएको छ । खेल्ने क्रममा दुवै गोडामा आगोले पोलेपछि १९ दिन अघि अस्पतालमा उपचारमा ल्याइएको ती वालकलाई अस्पतालका चिकित्सकले अन्त कहि लैजानु पर्दैन यही ठिक हुन्छ भन्दै लापर्वाहीपूर्ण उपचार गरिरहँदा ती वालकको ज्यान गएको बालकका आफन्तले बताएका छन् ।
अस्पतालबाट डिस्चार्ज गरिएका वालकको १० दिनपछि देब्रे पैताला पाकेपछि परिवारका सदस्यले फेरी अस्पताल पुर्याएका थिए । मृतकाका मामा र आफन्तजनले यहाँ ठिक हुँदैन भने हामी अन्त लैजान्छौं भने, तर चिकित्सकले तपाईहरु डराउनु पर्दैन, यो यहीं ठिक हुन्छ, पछि छोराको गोडामा अलिअलि दाग मात्रै रहन्छ अन्त लैजानैं पर्दैन भनेका थिए । त्यसपछि अस्पतालमैं पुन भर्ना गरिएको थियो । भदौ १६ गते घाउ सुकाउन भन्दै चिकित्सकले सुई समेत लगाएका बालकका आफन्तले बताएका छन् । छोरालाई डाक्टरले इन्जेक्सन लगाएपछि तत्कालै बेहोस् भएको छोरोले आँखै खोलेन । छोरो कहिले बोल्छ भनेर डाक्टरलाई पटक पटक सोध्दा एक घण्टापछि, दुई घण्टापछि भनिरहे । राती ८ बजे फेरी डाक्टरलाई सोधें, १० बजे होस खुल्छ भने मृतककी आमा मञ्जुले बताउनु भयो ।
भदौ १६ गते बिहान ४ बजेसम्म होस नखुलेपछि मृतकका मामाले अस्पताल सञ्चालक भुवन कटुवाललाई वोलाएपछि मात्रै उनले तपाईको छोरालाई काठमाडौ लैजानुस् भन्नेका थिए । उनैले अक्सिजन लगाईदिए । १७ गते पाटन अस्पताल लगेको ५ मिनेटमैं डाक्टरले तपाईको बच्चा मरिसकेको छ लैजानुस् भनेपछि सोही अस्पतालमा पोष्ट मार्टम गरेका थिए । पोष्ट मार्टम रिपोर्टमा औषधीको डोज बढी भएका कारण वालकको मृत्यु भएको भनेपछि आक्रोसित भएका आफन्तजनले अस्पताल सञ्चाल भुवनलाई नियन्त्रणमा लिएका थिए तर अस्पतालका चिकित्सक भुवनलाई तत्कालै छोड्नुस् नत्र मुद्धा लाग्छ भन्दै इलाका प्रहरी कार्यालय बेलघारीका सई अरुण झा र तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णवहादुर थापा मगरले फोन गरेपछि मृतक बालकका चिकित्सक भुवनलाई छाडेका थिए । तर अहिले चिकित्सक भुवन फरार भएका छन् ।