Close This

निजामती सेवा दिवसको अवसरमा लालबन्दीमा वृक्षारोपण कार्यक्रम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२२ गते   ४८ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा निजामती सेवा दिवस २०७८ को अवसर पारेर वृक्षारोपण गरिएको छ । नगरपालिका–६, स्थित सव डिभिजन कार्यालयदेखि केही उत्तर निर्माणाधीन मनमोहन सामुदायिक अस्पताल नजिकै मधु सामुदायिक वनको हाताभित्र राष्ट्रसेवक कर्मचारी वृक्षारोपण राष्ट्रिय अभियान जिल्ला स्तरीय समन्वय समिति सर्लाहीको आयोजनामा वृक्षारोपण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख उज्वल कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमका प्रमुख अतिथि लालबन्दी नगरपालिकाका नगर प्रमुख खड्काले पछिल्लो समय बढ्दो वन विनाशले गर्दा पानीका स्रोतहरु सुक्दै गइरहेको बताउनु भयो ।
नगर प्रमुख खड्काले वन जंगलको संरक्षण नगरे आगामी दिनहरु थप चूनौतिपूर्ण र अभाव ग्रस्त हुने बताउनु भयो । यस्तै, विभिन्न अभियानका क्रममा रोपिएका विरुवाहरुको संरक्षण गर्न नसके वृक्षारोपणको कुनै अर्थ नहुने प्रमुख जिल्ला अधिकारी महतोले बताउनु भयो । उहाँले धेरै ठाउँमा रोपिएका विरुवा उचित संरक्षणको अभावमा  सुकेर जाने र पशु चौपायले खाइदिने गरेकाले, त्यसो हुन नदिन आग्रह समेत गर्नु भयो । पछिल्लो समय घनघोर जंगल उदाङ्गिँदै गइरहेको भन्दै यसले वातावरण सन्तुलनमै असर परेको भन्दै प्रमुख जिल्ला अधिकारी महतोले चिन्ता व्यक्त गर्नु भयो ।
वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत तथा कार्यालय प्रमुख माधव प्रसाद देव, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल नं. १० गण कविलासीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धान सर्लाहीका प्रमुख अनुसन्धान उप निर्देशक दीलिप कुमार सिंह, भैरवी दल गण पाँचकुमारीका गणपति एवम कर्णेल अभिषेक कार्की,तेलबाली अनुसन्धान कार्यक्रम नवलपुरका प्रमुख डा. विशेश्वर प्रसाद यादव, डिभिजन खानेपानी कार्यालय मलङ्गवाका प्रमुख जानकीशरण भगत लगायत, डिभिजन वन,सव डिभिजन वन सहित विभिन्न कार्यालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । डिभिजन वन कार्यालय सर्लाहीको व्यवस्थापनमा भएको वृक्षारोपण कार्यक्रममा मलेसियन सालको ३ सय विरुवा रोपिएको डिभिजन वन अधिकृत देवले  जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech