सिन्धुलीको खुर्कोट हिरासतमा थुनुवा मृत्यु प्रकरण छानविन समितिको प्रतिवेदन पेश

168 Shares

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवानसम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ। हिरासत कक्षमा रहेका सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा का अन्दाजी २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीका लागि सिफारिस गरेको हो।छानबिन समितिले दोषी देखिएका प्रहरीहरूमध्ये एक जनालाई सचेत गराउने,दुई जनालाई ध्यानाकर्षण गराउने र पाँच जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने सिफारिस गरेको छ। 
त्यस्तै,बाँकीमध्ये एक जनालाई नसिहत र अर्का एक जनालाई ग्रेड घटुवा गर्न समितिले सिफारिस गरेको छ।यसका साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न,हिरासत व्यवस्थापन कार्य निर्देशन,२०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्न सरकार एवम प्रहरी प्रशासनलाई सुझाव दिएको छ।डिउटीको समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिँदै समितिले हिरासत भित्र कुनै पनि असामान्य गतिविधि भएमा तुरुन्तै रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउनुपर्नेमा जोड दिएको छ। 
विशेषतःअन्तर जातीय सम्बन्ध,नाबालिग संलग्नता तथा सामाजिक तनाव उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन,पक्षहरू एवम् परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चित गर्न समितिले सुझाव दिएको छ।
त्यसैगरी,जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षकलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन,निरीक्षण तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउन समितिले भनेको छ।मुद्दा चलाउने कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन,घटना एवम् सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ गर्न सचेत गराउँदै प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण,हिरासत अवस्थाको नियमित मूल्याङ्कन तथा सुधारमुखी कार्ययोजना कार्यान्वयन गर्न समेत समितिले महत्वपूर्ण सुझाव दिएको छ।
यता,हिरासत भित्र मृत्यु भएका वि.कको  शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । बाहिर माइतीघर मण्डलको सडकमा उनकी आमा बिन्दामाया न्यायको माग गर्दै दिनहुँ धर्नामा बसिरहेकी छन् । प्रहरी हिरासतमै छोराको मृत्यु भएपछि उनले शव बुझ्न अस्वीकार गरेकी छन् ।“निष्पक्ष छानबिन,दोषीलाई कारबाही र न्यायको सुनिश्चितता नभएसम्म शव बुझ्दिनँ।”उनी भन्छिन् । भागी विवाह गरेपछि केटी पक्षको उजुरीका आधारमा पक्राउ परेका वि.कको वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटस्थित प्रहरी हिरासतभित्र झुन्डिएको अवस्थामा मृत्यु भएको थियो ।
तर परिवार र दलित अधिकारकर्मीहरू यसलाई केवल “आत्महत्या”भनेर टुंग्याउन नमिल्ने भन्दै विरोध जनाएका थिए ।मृत्युको निष्पक्ष छानबिन हुनुपर्ने, क्षतिपूर्ति दिइनुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने लगायत माग पीडित परिवारको छ ।ललितपुरमा बस्दै आएका श्रीकृष्ण सोही क्षेत्रमा बस्ने एक युवतीसँग प्रेम सम्बन्धमा थिए।तीन वर्षको सम्बन्धपछि उनीहरूले राजीखुसी भागी विवाह गरेर सिन्धुली घर पुगेका आमा बिन्दामायाको भनाइ छ । 
सुरुमा चैत ३० गते युवतीका दाजुले बहिनी हराएको भन्दै ललितपुरस्थित सातदोबाटो प्रहरी वृत्तमा निवेदन दिएका थिए।वैशाख ३ गते प्रहरीले मिलापत्रका लागि दुवै परिवारलाई बोलायो ।तर,युवती १६ वर्ष मात्रै भएको भन्दै केटीका परिवारले बालविवाहको मुद्दा लगाउने भन्दै बलात्कारको उजुरी दिए ।वैशाख ४ गते बिहानै वि.क.लाई इलाका प्रहरी कार्यालय खुर्काेट पु¥याइएको र हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइएको थियो । तर, अनुसन्धानकै क्रममा हिरासतभित्रै उनको ज्यान गयो ।
सबै मिलेर शव बुझ्न पनि दबाब दिएका पीडित परिवारको भनाई छ।प्रहरीले “प्राविधिक कारण”देखाउँदै फुटेज उपलब्ध नभएको बताएको थियो।यता राष्ट्रिय दलित आयोगले पनि घटनाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ ।राज्य संरचनाले दलित समुदायलाई हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेको अधिकारकर्मीहरु बताउँछन् । 
सोही विषयलाई लिएर प्रतिनिधि सभा सदस्यहरु खगेन्द्र सुनार,रिमा विश्वकर्मा,सुष्मा स्वर्णकार र आशिष गजुरेल लगायत जिल्ला प्रशासन कार्यालय सिन्धुलीको मूलढोकामै धर्नामा समेत बसेका थिए । चौतर्फी दबाबपछि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक आचार्यको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । 
समितिले सार्वजनिक गरेको प्रतिवेदनमा थुनुवाको निगरानीका लागि डेडिकेटेड सुरक्षाकर्मी नखटाइएको,हिरासत व्यवस्थापन अधिकृत बिदामा रहँदा वैकल्पिक व्यवस्था नगरिएको र लामो समयसम्म थुनुवाको नियमित निगरानी समेत नगरिएको उल्लेख छ।यस्तै सीसीटीभी फुटेज उपलब्ध नभएको विषयलाई पनि प्रतिवेदनले गम्भीर कमजोरीका रूपमा औंल्याएको छ ।
त्यसो त सीसीटीभी फुटेज नभेटिएकै कारण मृतकका आफन्तले घटनाप्रति थप शंका गरेको प्रतिवेदनमै उल्लेख छ । छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक वसन्तबहादुर भुजेललाई विभागीय कारबाहीका लागि पनि सिफारिस गरेको छ।ड्युटीमा लापरबाही गरेको भन्दै सेन्ट्री प्रहरी जवान अर्जुन सिंहमाथि पनि कारबाही सिफारिस गरिएको छ।ड्युटी अधिकृत बलबहादुर माझी,सुवेदार मेजर प्रहरी सहायक निरीक्षक दौलत विक्रम जोशी,प्रहरी सहायक निरीक्षक रामकाजी कार्की,गार्ड कमान्डर राजकुमार उप्रेती र सीसीटीभी मनिटरिङमा रहेका प्रहरी हवल्दार अरुणकुमार श्रेष्ठलाई चेतावनी दिँदै तत्काल जिम्मेवारीबाट हटाउन प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनले सातदोबाटो प्रहरी वृत्तको भूमिकामा समेत प्रश्न उठाएको छ । अन्तरजातीय प्रेम सम्बन्ध र नाबालिग जोडिएको संवेदनशील विषयलाई सोही ठाउँमा तत्काल अनुसन्धान गर्नुपर्नेमा गम्भीर रूपमा नलिई अन्यत्र पठाइएकामा ध्यानाकर्षण गराइएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदीले वर्षमा दुईपटक मात्र निरीक्षण गरेको उल्लेख गर्दै सुपरीवेक्षण प्रणाली सुधार गर्न समितिले सुझाएको छ ।
छानबिन समितिले पनि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रहरीभित्र रहेको “दलित सेल”लाई महिला तथा बालबालिका सेवा केन्द्रसरह साधनस्रोत सम्पन्न र विश्वसनीय बनाउन सुझाव दिएको छ । साथै हिरासत कक्षका जोखिमयुक्त संरचना सुधार गर्न,चौबिसै घण्टा सीसीटीभी निगरानी गर्न र सेन्ट्री ड्युटीको समय एकपटकमा बढीमा तीन घण्टा मात्रै तोक्न सुझाव दिइएको छ ।

सम्बन्धित समाचार