सर्लाहीमा लोसपा र नेकपा (एमाले) बलियो, एमालेका प्रदेश सभा सदस्यहरु सबै नेकपा(एस) मा

4.5k Shares

निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयावधी मंगलवार सकिएको छ । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका नेकपा(एमाले) र जसपाका जनप्रतिनिधिहरुले दल रोज्ने समयावधि मंगलवार साँझ ५ बजेबाट सकिएको हो ।
 २० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा (एमाले)का नेता तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल र जनता समाजवादीका नेता महन्थ ठाकुरले नयाँ दल दर्ता गराएका थिए । 
जसअनुसार सर्लाही सहित देशभरमा नेता नेपाल निकट रहनु भएकाहरुले नेकपा(एमाले) छाडेर नेकपा (एकीकृत समाजवादी)मा र नेता ठाकुर निकट रहेका जनप्रतिनिधिहरुले जसपा छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) को पक्षमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार सर्लाहीका स्थानिय निकाय तथा प्रदेश र प्रतिनिधि सभाका लागि निर्वाचीत भएका १ सय ३९ जनाले लोकतान्त्रिक समाजवादी र ४८ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
सर्लाहीमा एमालेका प्रतिनिधि सभा सदस्य नरहेका र प्रदेश सभा सदस्यहरु सबै तीनैजना बेची लुंगेली, डिल्ली प्रसाद उप्रेती र रवीन्द्र बैठा तीनै जनाले एकिकृत समाजवादी पार्टी रोजेका हुन । तीन जनामध्ये दिल्लीमा भर्खरै उपचार गराएर आएका प्रदेश सभा सदस्य उप्रेतीले मंगलवार मात्रै जनकपुरस्थित प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नु भएको छ ।
सर्लाहीका २० वटा स्थानिय निकाय मध्य ४ वटा स्थानिय निकायमा तत्कालीन नेकपा(एमाले) का जनप्रतिनिधिहरु रहेका थिए । जसमा ३ वटा स्थानिय निकायमा जनप्रतिनिधिहरु नेकपा( एमाले)मा रहेका छन् । भने १ वटा स्थानिय निकायमा जनप्रतिनिधिहरु नेकपा( एकिकृत समाजवादी) मा गएका छन् । 
त्यसैगरी स्थानीय निकायहरुमा भने हरिपुर नगरपालिकाका नगर प्रमुख,उप प्रमुख सहित केही जनप्रतिनिधिहरु र लालबन्दी, हरिवन तथा बागमतीका केही वडाध्यक्ष एवम वडा सदस्यहरुले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्का, उप प्रमुख शान्ती लामा, हरिवन नगरपालिका नगर प्रमुख गणेश प्रसाद प्रसाई, उप प्रमुख रेणुका पौडेल, ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज देवकोटा, उप प्रमुख एकावती चौधरी लगायतका जनप्रतिनिधिहरु भने एमालेमै रहेका छन् । लालबन्दी नगरपालिकाका  वडा नम्बर १ का वडा अध्यक्ष पञ्चलाल स्यांङबो मात्र नेकपा(एकिकृत समाजवादी) मा जानु भएको छ । त्यसैगरी नेकपा(एमाले) सर्लाहीका अध्यक्ष रेवती पन्त नेकपा(एमाले) मै रहेका छन् । 
त्यसैगरी, राजपाबाट निर्वाचित दुवै प्रतिनिधि सभाका सदस्यहरु प्रमोद साह र महेन्द्र यादव जसपामा बसेका छन् । त्यस्तै, राजपाका ८ मध्ये ५ जना प्रदेश सभा सदस्यहरु पनि जसपामै बसेका छन् । यसबाट सर्लाहीमा केन्द्र र प्रदेशमा जसपा बलियो देखिएको छ । राजपाका प्रदेश सभा सदस्यहरु अशोक यादव, सन्जय यादव, सन्चमाया मोक्तान, निरा कुमारी साह र प्रदेश सरकारको मन्त्री समेत रहनु भएका राम नरेश साह जसपामै रहेका छन् । उपेन्द्र महतो, गौरीनारायण साह र निलमदेवी भुमिहारले मात्रै लोसपा रोजेका छन् ।
त्यसैगरी, स्थानीय निकायमा भने लोसपा बलियो देखिएको छ । राजपाबाट जितेका ७ वटा स्थानिय निकायका प्रमुखमध्ये ५ वटा स्थानिय निकायका प्रमुखहरु लोसपामा लागेका छन् । बलरा नगरपालिकाका नगर प्रमुख अभय कुमार सिंह, गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादव, कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद यादव, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साह र चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो लोसपामा रहेका छन् । कविलासी नगरपालिकाका नगर प्रमुख कौशल किशोर राय जसपामा बसेका छन् भने लोकतान्त्रिक फोरमबाट जितेका पर्सा गाउँपालिकाका अध्यक्ष किसुन देव रायले पनि जसपानै रोजेका निर्वाचन आयोगको कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार