Close This

पुर्व पश्चीम लोकमार्ग मर्मत सम्भारको अभावमा दिनप्रतिदिन जिर्ण बन्दै,नागरिकलाई सास्ती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१२ गते   ५२ पटक हेरिएको

पूर्व–पश्चिम लोकमार्ग मर्मत नहुँदा स्थानीय नागरिकलाई सास्ती भएको छ । लोकमार्गको दर्जनौँ स्थानमा ठूल्ठूला खाल्डा परेका छन् । सर्लाहीको चापिनी र लखन्देही खोलाको पुल समेत जिर्ण भएको छ । लोकमार्ग र पुलमा बनेका खाल्डाखुल्डीले सवारी दुर्घटना बढिरहेको स्थानीयको भनाई छ ।
सर्लाहीको बाँकेदेखि बागमतीसम्मकै लोकमार्ग अत्यन्त जिर्ण बनेको र खाल्डो छल्ने क्रममा सवारी दुर्घटना हुने गरेको सवारी चालकहरुले गुनासो गरेका छन् । चौबिसै घण्टा व्यस्त हुने राजमार्ग जीर्ण हुँदा मोटरसाइकल, कार, जीपजस्ता साना सवारी साधनहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।
चाडपर्व नजिकिँदै गर्दा सवारीको चाप बढ्दै गएपनि सडकको अवस्था जिर्ण रहेको कारण थप दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताउनु भयो ।“चाडपर्व नजिकिएसँगै सडकमा सर्वसाधरण र सवारीको चाप बढेको छ, तर सडकको अवस्था बिग्रदो छ । यसले सवारी दुर्घटनाको जोखिम अझै बढेको छ ।” ट्राफिक प्रहरी निरीक्षक दोङले बताउनु भयो ।
सडकमा जति सवारीको चाप बढ्यो, दुर्घटनाको जोखिम पनि उत्तिनै हुने ट्राफिक प्रहरीको भनाई छ । खाल्डो परेका केही स्थानमा माटो र गिट्टी बालुवा हालेर पुर्ने काम भएको भएपनि त्यसरी पुरीएका ठाउँमा केही दिनमै फेरी खाल्डा पर्ने गरेका छन् ।
दशैँअघि नै पूर्व–पश्चिम लोकमार्ग मर्मतको काम गरिने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख नरेश प्रसाद केशरीले जानकारी दिनु भयो । उहााका अनुसार रौतहटतर्फबाट सडक मर्मतको काम सुरु भइसकेको र दुई–चार दिनभित्रै सर्लाही खण्डको सडकको पनि मर्मत सम्भार हुने छ । सडक मर्मतका लागि विश्व बैङ्कद्वारा ठेक्का लागेकाले ठेकेदारमार्फत नै काम गरिने पनि कार्यालय प्रमुख केशरीले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech