Close This

सर्लाहीका नौ स्थानिय निकायमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न, पाँच स्थानिय निकाय अन्यौलमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१२ गते   १८८१ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) ले सर्लाहीका बीस मध्य नौवटा स्थानिय निकायमा प्रथम नगर अधिवेशन सम्पन्न गरेकोे छ । देशभर एकै साथ सुरु भएको अधिवेशन अन्तर्गत शनिबार सर्लाहीका बीस मध्य नौ वटा स्थानिय निकायको प्रथम अधिवेशन माओवादी केन्द्रले सम्पन्न गरेको हो ।
२० स्थानिय निकाय रहेको सर्लाहीमा १५ स्थानिय निकायमा प्रथम अधिवेशन सुरु भएको थियो। अधिवेशन सुरु गरेका मध्ये नौ वटा स्थानिय निकायमा सर्वसहमत कमिटी गठन गरिएको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिनु भयो । ६ वटा स्थानिय निकायमा सर्वसहमति हुन नसकेपछि प्रथम अधिवेशन उद्घाटन सत्र सकेर स्थगित गरिएको छ । अन्य पाँचवटा स्थानिय निकायमा भने, प्रथम अधिवेशन प्रक्रिया नै अगाडि नबढेको नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ ।
अधिवेशनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल माध्यमबाट सम्बोधन गरि एकैसाथ उद्धघाटन गर्नु भएको थियो । शनिबार अधवेशन हुन नसकेका स्थानिय निकायहरुमा पनि सर्वसहमतीको लागि छलफल जारी रहेको र चाँडै नै सर्वसहमतीमा कमिटि घोषणा हुने नेकपा(माओवादी केन्द्र) सर्लाहीका सह इन्चार्ज लुमणी धिताल(लोचन)ले जानकारी दिनु भयो । उहाँका अनुसार पार्टीको नीतिअनुसार प्रत्येक नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्य पालिका कमिटी गठन गरिएको छ । जिल्लाको सम्पूर्ण स्थानिय निकायहरूको प्रथम अधिवेशन हरेक हिसाबले समानुपातिक बनाउने प्रयास गरिएको माओवादी केन्द्रले जनाएको छ ।
जिल्लाको लालबन्दी नगरपालिकामा लेखराम जर्गा मगर (अर्जुन), हरिपुर नगरपालिकामा सुनील कुमार बुढाथोकी, हरिवन नगरपालिकामा अर्जुन पन्त,बागमती नगरपालिकामा चित्रकुमार तुम्सिङ, कविलासी नगरपालिकामा विनय यादव, बलरा नगरपालिकामा रामबाबु दास, विष्णु गाउँपालिकामा सुरेन्द्र राय, चक्रघट्ट गाउँपालिकामा विक्रम राय यादव र बसबरिया गाउँपालिकामा रामविश्वास रायको अध्यक्षतामा सर्वसहमतीमा कमिटी गठन गरिएको छ ।
यस्तै, जिल्लाको चन्द्रनगर, ईश्वरपुर, बरहथवा, हरिपुर्वालगायतका स्थानिय निकायहरुमा उद्घाटन सत्र सुरु भएर अधिवेशन स्थगित भएको छ भने पर्सा गाउँपालिका, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र मलंगवा नगरपालिकामा प्रथम अधिवेशन नै हुन सकेको छैन । अधिवेशन हुन नसकेका स्थानिय निकायहरूमा समेत छलफल गरेर सर्वसहमतिमा कमिटी गठनको प्रक्रिया अगाडि बढाइएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज अचुतम काफ्लेले जानकारी दिनु भयो । जिल्लाका २० वटा स्थानिय निकायका २ सय वडा सबै वडाहरुमा वडा कमिटीहरू गठन भइसकेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech