नेपाली काँग्रेस सर्लाहीको वडा अधिवेशनस्थलमा सोमबार(आज) पनि झडप भएको छ । सोमबार दिउँसो जिल्लाको बलरा नगरपालिका ८ गहडीयामा कांग्रेसका कार्यकर्ताहरु र प्रहरी वीच झडप हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।
काँग्रेसको एक समूहले आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । मतदान अधिकृत झालाई मतदान स्थलबाट उद्धार गरेर प्रहरी कार्यालयमा लैजान खोज्दा सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंह पक्षधरका कार्यकर्ताहरुले निर्वाचन अधिकृत माथी ढुङ्गामुढा प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस क्रममा घाइते हुनेमा प्रहरी निरिक्षक सुरेश ठाकुर,प्रहरी सहायक निरिक्षक अरुण कुमार यादव,प्रहरी हबल्दार अवधेश प्रसाद यादव, प्रहरी हबल्दार राजेश चौधरी र प्रहरी जवान रामानन्द यादवका साथै कौडेना गाउँपालिका २ का अन्दाजी बर्ष ५५ का मतदान अधिकृत उमेशचन्द्र झा रहेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले झडपलाई नियन्त्रणमा लिन ३ सेल आँश्रु ग्यास चलाएको जनाएको छ ।
गम्भीर घाइते भएका निर्वाचन अधिकृत झा र प्रहरी सहायक निरिक्षक अरुण कुमार यादवलाई थप उपचारको लागि वीरगंज पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिनु भयो । उहाँका अनुसार अन्य घाइतेहरुको जिल्ला अस्पताल मलङ्गवा,सर्लाहीमा उपचार भइरहेको छ । झडप पछि वडा अधिवेशन स्थगित गरिएको छ । यसअघि आइतबार पनि बलरा नगरपालिका ९, अचलगढमा काँग्रेसका दुई समूहबीच झडप भएको थियो ।
विवादपछि सर्लाहीमा आइतबारबाट काँग्रेसको वडा अधिवेशन प्रक्रिया सुरु भएको थियो ।जिल्लाका ११ नगरपालिका र ९ गाउँपालिकाका २ सय वडामध्ये आईतबार १ सय ६० भन्दा बढी वडाहरुमा सहमतीबाटै नेतृत्व चयन भएको थियो । बाँकी वडाहरुमा सोमबार ९आज० मतदान चलिरहेको समयमा एक समूहले आक्रमण गरेको जिल्ला निर्वाचन अधिकृत भरत राउतले बताउनुभयो ।
झडपका कारण ४ नम्वर निर्वाचन क्षेत्रमा पर्ने बलरा नगरपालिकाका विभिन्न वडाहरुमा अधिवेशन नै अन्यौलमा परेको छ । सो क्षेत्रमा पार्टीका प्रतिनिधि सभा सदस्य एवम नेपाली कांग्रेसका नेता डा। अमरेशकुमार सिंह र पार्टीकै नेता एवम प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह समूहबीच विवाद देखिएको छ । सदस्यता विवादकै विचमा नेपाली कांग्रेस सर्लाहीले जिल्लाका वडाहरुको अधिवेशन शुरु गरेको थियो ।