सर्लाहीको लालबन्दी नगरपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ का लागि करिब डेढ अर्ब बजेट प्रस्तुत गरेको छ।लालबन्दी नगरपालिका–१० स्थित सभा हलमा आयोजना गरिएको आगामि आर्थिक वर्ष २०८३/०८४ को बार्षिक बजेट,नीति तथा कार्यक्रममा लालबन्दी नगरपालिकाले रु एक अर्ब ४७ करोड ९७ लाख ९९ हजार तीन सय ७० को बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको लालबन्दी नगरपालिकाका प्रवक्ता एवम लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार नगर प्रमुख वासुदेव अधिकारीले नगरसभाको सोह्रौं अधिवेशनमा आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लालबन्दी नगरको दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर विकास कार्यक्रम अघि बढाइने प्रतिवद्धता जनाएका छन् ।
लालबन्दी नगरपालिकाले स्वास्थ्य,शिक्षा,कृषि,पूर्वाधार,रोजगार,सुशासन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई आगामि आर्थिक वर्ष २०८३/०८४ का प्रमुख प्राथमिकताका रूपमा अघि सारेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले जानकारी दिए ।उनका अनुसार प्रस्तुत बजेटको सञ्चित कोषबाट चालु,पूँजीगत तथा वित्तीय व्यवस्थापन समेत गरी अधिकतम रु एक अर्ब ४७ करोड ९७ लाख ९९ हजार तीन सय ७० खर्च गर्न सकिने व्यवस्था गरिएको हो ।
नीति तथा कार्यक्रममा पूर्वाधारतर्फ त्रिभुवननगर–नारायणखोला–मरिण सडक विस्तारलाई निरन्तरता दिइने,नारायणखोलाको निर्माणाधीन पुल चालु आर्थिक वर्षमै सम्पन्न गर्ने, प्रशासनिक भवन,नगर अस्पताल भवन तथा विभिन्न पुल निर्माण अन्तिम चरणमा पुगेकाले त्यसलाई सम्पन्न गर्ने साथै नगर अस्पताललाई थप सुदृढ बनाउने लगायतका कार्यक्रम प्रस्तुत गरिएको छ ।
यसका साथै उच्च शिक्षाको विकासका लागि काठमाडौँ विश्वविद्यालयको विस्तार कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।लालबन्दी नगरपालिका–१६ भोर्लेनी क्षेत्रमा विश्वविद्यालय विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढेको र आगामी आर्थिक वर्षभित्रै शैक्षिक कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको नगर प्रमुख अधिकारीले बताए।
उनका अनुसार भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि भूमि आयोगसँगको सहकार्यलाई निरन्तरता दिइने छ।मालपोत तथा नापी कार्यालय सञ्चालनका लागि आवश्यक जनशक्ति,पूर्वाधार र प्रविधि व्यवस्थापन गरिने नगर प्रमुख अधिकारीले बताए ।
कृषि क्षेत्रलाई उत्पादन र रोजगारीको आधार बनाउने उद्देश्यले सिँचाइ विस्तार,किसान सूचीकरण,माटो परीक्षण सेवा,कृषि यान्त्रिकीकरण तथा तरकारी उत्पादन प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने नगर उप प्रमुख कल्पनामाया पाख्रिनले बताईन् ।उनका अनुसार “गोलभेडाको शहर,लालबन्दी नगर”अभियानलाई थप प्रभावकारी बनाउँदै गोलभेडा प्रशोधन केन्द्र स्थापना,कृषि बजार विस्तार तथा खाद्यान्न प्रशोधन केन्द्र निर्माणको पहल गरिने छ। साथै,रैथाने बाली संरक्षण,मौरीपालन प्रवद्र्धन तथा उत्कृष्ट कृषकलाई प्रोत्साहन कार्यक्रम समेत सञ्चालन गरिने लालबन्दी नगरपालिकाले जनाएको छ।