रानिगन्ज खानेपानीले इतिहाँस रच्यो,पहिलो पटक निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन

365 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित रहेको रानिगन्ज खानेपानी मूल उपभोक्ता समितिको अध्यक्षमा पुरुषोत्तम प्रसाद पौडेल विजयी भएका छन् ।नेकपा(माओवादी केन्द्र),नेकपा एमाले र नेपाली कांग्रेसको एउटा समूहबाट माओवादी केन्द्रको साझा उम्मेदवार रहेका एमाले नेता पौडेल २ सय ९५ मत प्राप्त गर्दै वियजी भएका हुन ।उनका प्रतिस्पर्धी कांग्रेसको अर्को समूहका उम्मेदवार भरतबहादुर थापाले २ सय ४३ र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हिराबहादुर घिमिरेले ८२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । उपाध्यक्षमा पौडेल प्यानल कै डुकेन्द्र कुमार बस्नेत,सचिवमा पौडेल प्यानल कै  कुमार प्रसाद भट्टराई र कोषाध्यक्षमा पौडेल प्यानलकै उम्मेदवार अम्बरबहादुर कार्की विजयी भएका छन् ।
उपाध्यक्षमा पौडेल समूहका बस्नेतले ३ सय ३३ मत ल्याइ बिजयी हुँदा उनका प्रतिस्पर्धी थापा प्यानलका वुद्धिमाया थिङले २ सय ६० मत  प्राप्त गरिन् भने सचिवमा पौडेल समूहका भट्टराई ३ सय २५ र कोषाध्यक्षमा पौडेलकै प्यानल कै कार्की ३ सय २९ मत ल्याई बिजयी भएका छन् । थापा समूहबाट सचिवका उम्मेदवार टेकबहादुर श्रेष्ठले २ सय ५७ र कोषाध्यक्षमा तिर्थमान लोप्चनले २ सय ५७ मत प्राप्त गरे ।चार जना मुख्य पदाधिकारीहरु चयन गर्न रानिगन्ज खानेपानीको आईतबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म खानेपानी कार्यालयकै प्राङ्गणमा मतदान भएको थियो । जसमा कुल मतदाता ८ सय ८३ मध्य ६ सय ५५ जना उपभोक्ताले मतदान गरेका थिए ।
आईतबार साँझबाट सुरु भएको मतगणना राति करिब १२ बजे सम्पन्न गरिएको निर्वाचन समितिका संयोजक चेतप्रसाद तिमल्सिनाले जानकारी दिए ।रानिगन्ज खानेपानीका १५ जना कार्य समिति सदस्यहरु मध्ये ९ जना सदस्य मंसिर ९ गते शनिबार भएको साधारण सभाकै दिन सर्वसहमत चयन भएका थिए भने सहमती हुन नसकेका ४ जना पदाधिकारीको लागि निर्वाचन भएको थियो । समितिको बाँकी २ जना सदस्य निर्वाचित समितिको बैठक मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।रानिगन्ज खानेपानीले पहिलो पटक लोकतान्त्रीक पद्धतिबाट पदाधिकारी चयन गरेको लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष विष्णु अधिकारीले जानकारी दिए ।उनका अनुसार रानिगन्ज खानेपानीको इतिहाँसमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गरिएको हो 

सम्बन्धित समाचार