Close This

पर्सा गाउँपालिकाको एक दिने अध्यक्षमा १६ वर्षीया अन्जली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१४ गते   २५६० पटक हेरिएको

सर्लाहीको पर्सा गाउँपालिकामा (आज)मंगलवार एक दिनका लागि १६ वर्षिय बालिकालाई गाउँपालिका अध्यक्ष बनाइएको छ । पर्सा गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि १६ वर्षीय बालिका अन्जली कुमारी साहलाई गाउँपालिकाका अध्यक्ष बनाइएको हो ।
बाल अधिकारको प्रवद्र्धन र बालबालिकाको नेतृत्व क्षमता विकासका लागि एक दिनका लागि भएपनि १६ वर्षिय बालिकालाई गाउँपालिकाको अध्यक्ष बनाइएको पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले जानकारी दिनु भयो । अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै अन्जलीले बालिका शिक्षालाई जोड दिनु पर्ने र गाउँपालिका भित्रै प्राविधिक शिक्षालयको स्थापना गर्नु पर्ने आवश्यकता रहेको बताईन । नवनियुक्त गाउँपालिका अध्यक्ष अन्जलीले “बाल अधिकार प्रवद्र्धन र बाल संरक्षणका लागि सबै पक्ष मिलेर क्रियाशील हुनु पर्ने बताईन ।”
यसैगरी नेतृत्व हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रायले शिक्षा र स्वास्थ्यमा गाउँपालिकाले लगानी गरिरहेको बताउनु भयो ।“बालमैत्री गाउँपालिका बनाउनका लागि भौतिक संरचना निर्माण गर्दा बालमैत्री बनाउने मात्र नभई बाल संरक्षणका लागि नीति, नियमावली निर्माण गरेर लागू गर्ने काम गाउँपालिकाले गरिरहेको छ ।” अध्यक्ष रायले बताउनु भयो ।
यस प्रकारका क्रियाकलापले सांकेतिक रुपमा मात्र नभई बालबालिकाको प्रतिभा प्रस्फूटन र नेतृत्व क्षमता विकास गर्न मद्दत पुग्ने पर्सा गाउँपालिका वडा नं. ३ का अध्यक्ष भिखारी साहले बताए ।
यसैगरी गाउँ कार्यपालिकाको बैठक बसी बालविवाह न्युनीकरणका लागि सूचनाहरु प्रचार प्रसार गर्ने, सम्पूर्ण वडाहरुमा बाल क्लव र बाल संजाल गठन गर्नका लागि गाउँपालिकाबाट रु ५० हजार बजेट बिनियोजन गर्ने र गाउँपालिकामा निर्माण हुने भौतिक संचनाहरु बालमैत्री बनाई आगामी ५ वर्षभित्र पर्सा गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने समेतका ऐतिहासिक निर्णय समेत गरिएको गाउँपालिकाको कार्यालयले  जनाएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा पर्सा गाउँपालिकाको आयोजना तथा बागमती सेवा समाज नेपाल र वल्र्डभिजन इन्टरनेसनल नेपालको सहयोगमा आयोजित उक्त कार्यक्रममा पर्सा गाउँपालिकाकी उपाध्यक्ष इन्द्रकला देवी साह, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, वल्र्डभिजन इन्टरनेशनल नेपालका प्रमिल अधिकारी, सीता चौधरी, पर्सा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको विशेष सहभागिता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech