शंखर पहाडी(गौरब)
सर्लाहीमा चार सय ५१ वटा सामुदायिक विद्यालय रहेका भएपनि एक सय २६ वटा सामुदायिक विद्यालयहरुमा हालसम्म एउटा पनि वाल विकास केन्द्र छैनन् । जिल्लामा दुई सय ९७ प्राथमिक तहका सामुदायिक विद्यालय,५६ वटा आधारभूत तहका सामुदायिक विद्यालय र ९८ वटा माध्यमिक तहका सामुदायिक विद्यालय गरि जम्मा चार सय ५१ वटा सामुदायिक विद्यालय र ८६ वटा परम्परागत विद्यालय रहेका भएपनि एक सय २६ वटा विद्यालयहरुमा हालसम्म एउटा पनि वाल विकास केन्द्र नरहेको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीहरुको संख्या अनुपातमा जिल्लाका विभिन्न तहमा पाँच हजार तीन सय १७ आवश्यक न्यूनतम् शिक्षक दरबन्दी हुनु पर्ने हो । तर हाल दुई हजार तीन सय ८८ मात्रै मौजुदा दरबन्दी रहेको र दुई हजार नौ सय ३९ थप दरबन्दी आवश्यक रहेको छ । २०५७ सालदेखि स्वीकृत शिक्षक दरबन्दी तथा २०६७ सालदेखि शिक्षक अनुदान कोटा(राहत)नथपिएका कारण पनि जिल्लामा ठुलो संख्यामा शिक्षकको दरबन्दी खाली देखिएको समन्वय ईकाईको भनाई छ ।
जिल्लामा दुई सय ५० प्राथमिक तहका संस्थागत विद्यालय,४१ वटा आधारभूत तहका संस्थागत विद्यालय र ४५ वटा माध्यमिक तहका संस्थागत विद्यालय गरि जम्मा तीन सय ३७ संस्थागत विद्यालय रहेका छन् । जिल्लाका सामुदायिक तथा संस्थागत द्यिालयहरुमा कुल दुई लाख ३४ हजार एक सय ६३ जना विद्यार्थीहरु अध्यायनरत रहेका समन्वय ईकाइका प्राविधिक सहायक कुशवाहले बताए ।
उनका अनुसार दुई सय ९७ प्राथमिक तहका सामुदायिक विद्यालयमध्ये ३६ वटा,५६ आधारभूत तहका सामुदायिक विद्यालयमध्ये ३० वटा र ९८ माध्यमिक तहका सामुदायिक विद्यालयमध्ये १९ वटा विद्यालयहरूमा तहगत दरबन्दी छैन् । भने जिल्लाका कुनै पनि स्थानीय तह साक्षर घोषणा भएका छैनन् ।
त्यस्तै विद्यालय सहायक परिचर चार सय ७८ जना,विद्यालय सहयोगी कर्मचारी ८६ जना, निजि स्रोतका शिक्षक एक सय आठ जना दरबन्दीमा कार्यरत रहेका छन् । शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधिक सहायक कुशवाहका अनुसार जिल्लामा रहेका चार सय ५१ सामुदायिक विद्यालयहरुमा पाँच हजार भन्दा बढि जनशक्ती कार्यरत रहेपनि सामुदायिक विद्यालयहरुको अवस्था दिनानु दिन खस्कँदो छ ।
जिल्लामा रहेका चार सय ५१ सामुदायिक विद्यालयहरुमा दुई हजार नौ सय ३९ थप दरबन्दी आवश्यक रहेको छ । रिक्त शिक्षक दरबन्दी पदपुर्ती नहुदा पनि सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधिक सहायक कुशवाहले बताए ।
शिक्षक दरबन्दी मिलान तथा कार्यविधी निर्देशिक २०७६ बमोजिम विद्यार्थी संख्याको आधारमा सामुदायिक विद्यालयहरु मर्जगर्नु पर्ने शिक्षा विद्धहरुको सुझाव छ । २० वटा स्थानीय तहहरु रहेको सर्लाहीमा हरेक स्थानीय तहहरुमा १० वटा भन्दा बढि सामुदायिक विद्यालयहरू रहेका छन् । साुमदायिक विद्यालयहरुको गुणस्तर खस्किँदो अवस्थामा रहेका कारण विद्यार्थीहरुको संख्या न्युन हुँदै गएको छ ।
केही विद्यालयहरुमा विद्यार्थी संख्या धेरै रहेको भएपनि शिक्षकको अभाव र अधिकांस विद्यालयहरूमा विद्यार्थीको संख्या थोरै छ । केही विद्यालयमा शिक्षक मात्र छन,केहीमा विद्यार्थी नै नहुनु सामुदायिक विद्यालयहरूको बेथिति हो । जिल्लाका केही विद्यालयहरुमा शिक्षक संख्या छ जना र विद्यार्थीहरुको संख्या १० जना मात्र रहेका पाइएको छ ।