पूर्व–पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोलाकाे पुलमा आइतबार मध्यान्ह ११:२० बजे बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र २५ जनाभन्दा बढी घाइते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना. ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेकाे हाे ।
दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि लालबन्दीको मोडेल,गढिमाई अस्पताल,सुर्याेदय र गाउँ मैत्री अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । सोमध्ये चार जनालाई चिकित्सकले मृत घोषणा गरि सकेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतकहरुको पहिचान भइनसकेको र पहिचान खुलाउने काम जारी रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनु भयाे ।
उहाँका अनुसार गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र रेफर गर्ने क्रम भइरहेको छ । दुर्घटनामा बस चालक घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण भने खुल्न नसकेको भए पनि तिब्रगतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।