सर्लाहीको बरहथवा र हरिपुर्वामा गरि दुई जनाको बाढीले बगाएर ज्यान गएको छ ।रौतहटको गढिमाई नगरपालिका २ बाट मंगलबार बिहान बरहथवा नगरपालिका ४ स्थित हजरियामा रहेको खेतमा काम गर्न आएका गढिमाई नगरपालिका २ समनपुरका अन्दाजी ६६ वर्षीय सहिद राय भाटको बागमती नदीमा आएको बाढीले बगाएर ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
रायलाई खेतको काम सकेर पुलसम्म पुग्न खोज्दा सर्लाहीतर्फ बरहथवा नगरपालिका ४, मा बागमती नदीको बाढीले बगाएपछि हजरियाका स्थानीयले उद्धार गरी सिकिस्त अवस्थामा रौतहटको समनपुरस्थित एक निजी क्लिनिकमा पुर्याएका भए पनि त्यहाँ उपचार हुन नसकेपछि चन्द्रनिगाहपुर अस्पताल पुर्याउँदा रायलाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
त्यस्तै सर्लाही र महोतरीको सिमानामा रहेको बाँके खोलामा आएको बाढीले बगाएर हरिपुर्वा नगरपालिका ७ बसन्तपुरका अन्दाजी वर्ष ६० का भोला चौधरीको ज्यान गएको छ । सोमबार रातीदेखि घरपरिवारको सम्पर्कमा नरहेका चौधरीको शव मंगलबार बिहान खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी मलंगवा नगरपालिका ९ स्थित ओम पेट्रोल पम्प अगाडी नालाको पानीले बगाएर ल्याएको एक नवजात शिशुको बेबारिसे शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ । शवलाई निकाली प्रादेशिक अस्पताल मलंगवामा राखिएको अनुसनधान सुरु भएको प्रहरीले जनाएको छ ।