लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता आवश्यक छ ः अध्यक्ष प्रचण्ड

2.5k Shares

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनु भयो । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको शनिबार चितवनमा उद्घाटन गर्दै उहांले लोकतन्त्रको सुदृढीकरणका निम्ति प्रेस स्वतन्त्रता आवश्यक रहेको बताउनु भएको हो ।
उहांले कार्यक्रमलाई सम्बोधन गर्दै ‘विगतको सरकारले जे–जस्ता ऐन बनाएर कहीँ न कहीँ प्रेस जगतलाई अङ्कुश लगाउने जे–जस्ता ऐन बनेका छन् तिनलाई खारेज गरिने छ, यो हुन दिइने छैन ।’ बताउनु भयो । यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल सुरु भइसकेको जनाउँदै उहांले प्रधानमन्त्री शेर बहादुर देउवासँग पनि छलफल भइरहेको जानकारी दिनु भयो । उहांले ‘जति प्रेस बलियो हुन्छ, जति पत्रकार जिम्मेवार र सङ्गठित हुन्छन् त्यति लोकतन्त्र सुदृढ र समाजवादको आधार तयार हुन्छ ।’ कार्यक्रममा बताउनु भयो ।
स्वतन्त्र प्रेससँगै समाजवादको दिशातर्फ अघि बढ्ने कामको सुनिश्चितता हुने उहांको भनाइ छ । उहांले अहिले पनि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी सलबलाइराखेका समेत बताउनु भयो । उहांले ‘कहीँ न कहीँ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि, प्रेसलाई कमजोर पार्न सकिन्छ कि, प्रेसमार्फत भ्रम छर्न सकिन्छ कि भनेर त्यो षड्यन्त्र अझै पनि जारी रहेको बताउनु भयो ।’
राजनीतिक रूपमा चितवन परिचित बन्दै गएको जनाउँदै उहांले ‘प्रचण्डलाई मन पर्नेले पनि चितवन रोज्ने भए, नपर्नेले पनि चितवन रोज्ने भए, मन परेर आउनेलाई पनि धन्यवाद मन नपरेर आउनेलाई पनि धन्यवाद दिनु भयो । देशका सबै कम्युनिष्ट पार्टीहरुबीचको एकता अझै पनि आवश्यक रहेको बताउनु भयो । सच्चा र इमान्दार कम्युनिस्ट पार्टीहरु वीच एकताबद्ध हुनुपर्ने उहांको भनाई छ ।
सो अवसरमा अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरूबिच सहमतिका आधारमा मात्र हुने प्रस्ट पार्नु भयो । महाअभियोग र एमसिसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशङ्का भइरहेको बताउंलै अध्यक्ष प्रचण्डले गठबन्धनको भविष्यबारे ढुक्क हुन आग्रह गर्नु भयो । 
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भए पनि प्रेस स्वतन्त्रता विरोधी ऐन, कानुन बन्ने प्रक्रिया नरोकिएकाले नयाँ सरकारको अनुभूति प्रेसले पाउन नसकेको बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापा, अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पञ्चा सिंह, नेकपा(माओवादी केन्द्र)का प्रवास अध्यक्ष ओम शर्मा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहाललगायतले आफ्ना धारण राख्नु भएको थियो ।
महाधिवेशनले आफ्नो चौथो महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्दै छ । महाधिवेशनमा देशभरबाट करिब एक हजार प्रतिनिधिहरु सहभागी भएको केन्द्रीय महाधिवेशन आयोजक कमिटिले जनाएको छ ।
 

सम्बन्धित समाचार