शनिबार(आज)असार २९ गते अर्थात आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्ति ।आदिकवि आचार्यको दुई सय ११ औँ जन्मजयन्तिको अवसरमा लालबन्दी नगर वाङ्मय परिषद् र भानु प्रतिष्ठान नेपालका साथै सर्लाही साहित्य समाज र रौतहट–सर्लाही बुढ्यौली साहित्य समाजले विभिन्न कार्यक्रमहरु समेत गरेको छ ।लालबन्दी नगर वाङ्मय परिषद्ले दुई सय ११ औँ भानु जयन्तिका अवसरमा मधेश प्रदेस्तरीय रचनावाचन कार्यक्रम गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।
सर्लाही साहित्य समाजको आयोजनामा लालबन्दी नगरपालिका ४ हरिभवनस्थित शिशुकल्याण जनता माध्यमिक विद्यालयमा आदिकवि आचार्यको तस्बिरमा माल्यार्पण गर्दै उनको जीवनीको चर्चा गरिएको सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटाले जानकारी दिईन् ।उक्त कार्यक्रममा रौतहट–सर्लाही बुढ्यौली साहित्य समाजका अध्यक्ष लम्बोधर काफ्लेको समेत उपस्थिति रहेको थियो ।
त्यसैगरी मेची–महाकाली पैदलयात्रा सफलतापुर्वक सम्पनन गरेका बागमती नगरपालिका ११ पुतली चोकका नित्यानन्द शर्मा कँडेललाई सम्मान समेत गरिएको अध्यक्ष देवकोटाले बताइन् ।आदिकवि आचार्यको तनहुँको चुँदीरम्घामा वि.सं. १८७१ असार २९ गने आजैका दिन जन्म भएको थियो ।कार्यक्रममा सहभागीहरुले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबिच भाषिक एकता कायम हुन सकेको समेत उल्लेख गरे ।
आदिकवि आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबिच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको जानकारहरु बताउँछन् ।
नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबिच सिर्जनाको महत्त्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन र भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याउन र नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनमा अतुलनीय योगदान पुर्याएको जानकारहरु बताउछन् ।आदिकवि आचार्यको जन्म भएको दिनको सम्झनामा हरेक वर्ष असार २९ गते स्वदेश तथा विदेशमा रहेका नेपाली भाषा,साहित्य र संस्कृतिप्रेमीहरुले विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउँदै आएका छन् ।