Close This

सर्लाहीका तीन निर्वाचन क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु, निर्वाचन क्षेत्र नम्बर ३ मा अझैँ विवाद कायमै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२० गते   ८२४ पटक हेरिएको

नेपाली काँग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन सुरु भएको छ । लामो विवादपछि सर्लाहीमा सोमबार(आज)बाट नेपाली काँग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन सुरु भएको हो । सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन प्रक्रिया प्रारम्भ भएको जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार  क्षेत्र नं. १ को ईश्वरपुरस्थित बयलवास, क्षेत्र नं. २ को मलङ्गवा, क्षेत्र नं. ३ को बरहथवा र क्षेत्र नं. ४ को गोडैतास्थित रामवनमा क्षेत्रीय अधिवेशन प्रारम्भ भएको छ ।
क्षेत्र नं. ३ बाहेक अन्य क्षेत्रमा आज साँझ मनोनयन दर्ता गरिएको जिल्ला निर्वाचन अधिकृत ज्ञवालीले बताउनु भयो । क्षेत्र नं. १ को ईश्वरपुर नगरपालिकास्थित बयलवासमा भएको मनोनयन दर्ता कार्यमा क्षेत्र नम्बर १ मा जिल्ला सभापति नागेन्द्र कुमार राय(संस्थापन)को तर्फबाट कुवेर आचार्य र पूर्व जिल्ला सभापति लक्ष्मण राय(संस्थापनइतर)को तर्फबाट हरि लुंगेली क्षेत्रीय सभापतिको उम्मेदवार बनेका छन् । मनोनयन दर्ता भएका निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा मंगलबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत ज्ञवालीले बताउनु भयो ।
निर्वाचन अधिकृत ज्ञवालीले क्षेत्र नं. ३ मा पनि मंगलबार नै मनोनयन दर्ता गरेर त्यहाँ निर्वाचन गराइने कमलामाई खबरलाई बताउनु भयो । सो निर्वाचन क्षेत्रको कविलासी नगरपालिका–४, हेमपुरबाट एक जना नक्कली मतदाता घुसाएर प्रतिनिधि कायम गर्न खोजेपछि विवाद भएकाले सोमबार(आज) मनोनयन दर्ता हुन नसकेको निर्वाचन अधिकृत ज्ञवालीले बताउनु भयो ।
विवादले गर्दा सर्लाहीमा अधिवेशन नहुने भएपछि केन्द्रले नै निर्वाचन समिति र सुरक्षा अधिकारीलाई जसरी पनि अधिवेशन गराउन निर्देशन दिएको कांग्रेस नेताहरुले बताएका छन् । अधिवेशन नभए सर्लाहीबाट १४ औँ महाधिवेशनमा प्रतिनिधित्व नहुने भएपछि केन्द्रबाट जसरी भएपनि अधिवेशन गराउन दबाब आएको स्रोतले जनाएको छ ।
सर्लाहीमा संस्थापन र संस्थापनईतर वीच सहमती जुट्न नसक्दा गाउँपालिका तथा नगरपालिका, प्रदेश र जिल्ला अधिवेशन भने अन्योेलमा परेका छ । जिल्ला नै छुट्ने भएपछि अन्य तहको अधिवेशन छाडेर केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्न क्षेत्रीय अधिवेशन गर्न लागिएको कांग्रेसका नेताहरुले बताएका छन् ।  क्षेत्रीय अधिवेशनले प्रत्येक क्षेत्रमा एक जना क्षेत्रीय सभापति, दुई जना सचिव, दुई जना सह–सचिव र महाधिवेशन प्रतिनिधि चयन गर्ने छ । काँग्रेसको क्षेत्रीय अधिवेशन भइरहेको चारवटै स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 
जिल्लाका २० वटा स्थानिय निकायहरुका २ सय वडामध्ये करिब ३ वटा वडामा अझै नेतृत्व चयन गर्न बाँकी रहेको छ । बलरा, र कविलासी नगरपालिकाका गरि विभिन्न ३वटा वडामा वडा अधिवेशन समेत  भएको छैन । सोमबार(आज) मलङ्गवा नगरपालिकाको वडा नं. १०, कौडेना गाउँपालिकाको वडा नं. ४, ब्रह्मपुरी गाउँपालिकाको वडा नं. १ मा भने सदरमुकाम मलंगवामै मतदान गरेर नेतृत्व चयन गरिएको निर्वाचन अधिकृत ज्ञावालीले कमलामाई खबरलाई जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech