Close This

लालबन्दी सहित दुई स्थानमा आगलागी, करिब १० लाख बराबरको क्षति

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२८ गते   १७१९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ५ मेजरगन्जमा (आज) मंगलबार दिउँसो भएको आगलागीबाट लाखौँको क्षति भएको छ । लालबन्दी नगरपालिका–५, मेजरगन्जमा दिउँसो करिब ३ः३० बजे भएको आगलागीबाट स्थानीय मनोज गुप्ताको दुई तले काठको घर जलेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घरको पूजा कोठामा बिहान पूजा गर्ने क्रममा दियोमा बत्ती बाली छाडेकाले त्यसैबाट आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
आगलागीबाट कोठामा रहेको दुई वटा बाकसभित्र राखिएको सुन, नगद रु २ लाख ५० हजार, कपडासहितका सरसामग्री जल्दा करिब रु४ लाख ५० हजार बराबरको क्षति भएको पीडित गुप्ताले बताए । आगलागी हुँदा आफू घरमा नरहेको र छरछिमेकी मिलेर निभाइ दिएका गुप्ताले बताएका छन् ।
त्यसैगरी जिल्लाको कविलासी नगरपालिका–१, पिपरीयामा पनि आजै(मंगलबा) दिउँसो नै आगलागी भएको छ । थ्रेसरबाट धान झार्ने क्रममा अचानक आगलागी भएको हो । आगो निभाउन स्थानीयवासी, प्रहरी र हरिवन नगरपालिकाको दमकल प्रयोग भएको थियो ।
आगलागीबाट स्थानीय लोचन रायको ४ बिघाको पराल, राजनारायण रायको ५ बिघाको धान सहितको पराल, फुसको कच्ची गोठ, भाग्य नारायण रायको एक बिघाको धान सहितको पराल र उपेन्द्र मण्डलको १५ कठ्ठाको धानसहितको पराल, फुसको गोठ जलेर नष्ट हुँदा चारै जनाको गरी करिब रु ६ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहर िकार्यालय सर्लाहीले जनाएको छ ।
प्रदेश सभा सदस्य बेची लुंगेली, डिल्ली प्रसाद उप्रेती लगायतले आगलागीस्थलमै पुगेर पीडित किसानहरुलाई प्रदेश सरकारको तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएर पीडित उपेन्द्र मण्डलले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech