संस्थागत अतिक्रमणको चपेटामा सागरनाथ,वन क्षेत्र जोगाउन चुनौती

185 Shares

देशकै गौरवका रूपमा चिनिने सागरनाथ वन विकास परियोजना तीव्र अतिक्रमणको चपेटामा परेको छ।सरकारी संरक्षणमा रहेको विशाल वन क्षेत्र क्रमश : मानव बस्ती,खेतीपाती तथा अव्यवस्थित संरचना विस्तारका कारण खुम्चिँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।सर्लाहीको इश्वपुर,लालबन्दी,हरिपुर,हरिवन,बागमती र बरहथवाका साथै रौतहटको चन्द्रपुर र गुजरा तथा महोत्तरीको गौशाला र बर्दिवास नगरपालिका क्षेत्रमा फैलिएको परियोजना २०३५ सालमा वन पैदावार विकास समिति गठन गरि तयार पारिएको संरचना हो ।
वन पैदावार विकास समितिको अधिनमा रहि वन पैदावार विकास गर्दै विक्रि वितरण गर्ने र त्यस वापत राज्यलाई पनि राजश्व संकलन हुने योजना सहित १३ हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा फैलिएको परियोजना सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनको नाममा घर टहरा बनाउने,खेतीपाती गर्ने,धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने गर्दा नौ सय ६१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको सागरनाथ वन विकास परियोजना सर्लाहीका प्रमुख खेमलाल वि.क.ले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय व्यत्तिगत अतिक्रमण नभएको भएपनि संस्थागत अतिक्रमणको प्रयास भई रहेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र विस्ताको वाहनामा परियोजना क्षेत्र अतिक्रमणको प्रयास भई रहेको भएपनि त्यसलाई रोक्ने सवालमा परियोजना लागी परेको उनले बताए ।यसका साथै नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले चैत्र २२ गते “वन पैदावार विकास समिति अन्तर्गतको आयोजना÷परियोजनाको वन क्षेत्रमा नेपाल सरकारको पूर्वस्वीकृति बेगर विभिन्न सरकारी÷गैर सरकारी संघ÷संस्थाहरुले विभिन्न सरकारी तथा बाह्य श्रोतहरुबाट बजेट प्राप्त गरी धार्मिकस्थलहरु (मन्दिर,गुम्बा,चर्च,मस्जिद आदि),पाटी,पौवा, चौतारा,पोखरी,पार्क र खेलमैदान लगायतका भौतिक संरचना निर्माणका लागि वन क्षेत्रको
जग्गा माग गर्ने कतिपय अवस्थामा विद्यमान वन ऐन,नियमको वर्खिलाप हुने गरी वन क्षेत्रमा त्यस प्रकारका संरचना स्थानीय तह र संघ÷संस्थाले निर्माण कार्य गर्ने÷गराउने गरेको हुँदा नेपाल सरकारबाट स्वीकृति प्राप्त नभएको वनक्षेत्र प्रयोग गर्ने आयोजनाहरुको हकमा कुनै पनि सरकारी÷गैर सरकारी संघ÷संस्थाहरुबाट बजेट निकासा नहुने निश्चितताको लागि लेखि आएको हुँदा सो वन पैदावार विकास समितिको कार्यक्षेत्र अन्तर्गतको वन क्षेत्रहरुमा नेपाल सरकारको स्वीकृति बेगर कुनै पनि किसिमको आयोजना संचालन गर्ने÷गराउने कार्यको लागि सर्लाही,महोत्तरी र झापाका स्थानीय तहहरुमा बजेट विनियोजनको व्यवस्था नगर्न पत्राचार गरिदिनु हुन आदेशानुसार अनुरोध छ ।”भनि पत्राचार  भएको छ ।
स्थानीयवासीका अनुसार पछिल्ला केही वर्षयता वन क्षेत्रभित्र अनाधिकृत रूपमा घर टहरा निर्माण गर्ने,खेतीयोग्य जमिन बनाउने तथा सार्वजनिक क्षेत्र कब्जा गर्ने क्रम बढ्दो छ।कतिपय स्थानमा रातारात टहरा निर्माण गरिएको र पछि राजनीतिक दबाबका आधारमा त्यसलाई वैधता दिलाउने प्रयास भइरहेको समेत स्थानीयको आरोप छ ।
“पहिले घना जंगल थियो,अहिले बिस्तारै खेत र बस्तीमा परिणत हुँदै गएको छ,“प्रशासनले समयमै ध्यान नदिँदा अतिक्रमणकारीहरू झन् हौसिएका छन्।”स्थानीयले बताए ।सागरनाथ वन विकास परियोजनाका का एक कर्मचारीका अनुसार परियोजनाको हजारौँ हेक्टर जमिनमध्ये केही भाग विभिन्न समयमा अतिक्रमणमा परेको भएपनि पछिल्लो समय व्यक्तिगत अतिmक्रमण शुन्य छ भने संस्थागत अतिक्रमण पनि न्यून हुँदै गएको छ ।
ती कर्मचारीका अनुसार मन्त्रालयको परिपत्र अनुसार प्रमुख जिल्ला अधिकारीसंग छलफल गरि परियोजनाको अतिक्रमिता क्षेत्रमा वृक्षारोपणको काम गर्ने तयारी गरिएको छ।अतिक्रमण हटाउने काम सहज नभएको र राजनीतिक तथा सामाजिक दबाब पनि हुने भएकाले पहिलो चरणमा अतिक्रमण गरि खेतीपाती गरिएको क्षेत्रमा वृक्षारोपण गर्ने तयारी गरिएको हो ।
वन विज्ञहरूका अनुसार सागरनाथ केवल काठ उत्पादनको स्रोत मात्र नभई वातावरणीय सन्तुलन कायम गर्ने महत्वपूर्ण क्षेत्र पनि हो।वन क्षेत्र मासिँदा जैविक विविधता नष्ट हुने, तापक्रम वृद्धि हुने तथा जलस्रोतमा समेत नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ।“वन अतिक्रमण रोक्न स्थानीय तह,प्रशासन र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको र कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार