१ करोड ७ लाखमा निर्माण भएको लालबन्दी १ को रङ्गशाला उद्घाटन

419 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा निर्माण भएको फुटबल रङ्गशालाको उद्घाटन गरिएको छ ।मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा फुटबल रङ्गशालाको उद्घाटन गरिएको जीवेश्वर यूवा क्लबका अध्यक्ष दिपेन्द्र बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश सरकार,लालबन्दी नगरपालिका र लालबन्दी नगरपालिका १ सहित विभिन्न दाताहरुको सहयोगमा मधेश प्रदेशकै नमूनाको रुपमा करिब पाँच सय दर्शक क्षमताको प्याराफिट सहितको ड्रेसिङ रुम, प्लेयर बक्स, शौचालय, बाथरुम भएको आकर्षक फुटबल रङ्गशाला निर्माण गरिएको हो ।
शुक्रबारबाट सुरु हुने प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिता यही रङ्गशालामा सञ्चालन हुने क्लबले जनाएको छ ।मधेश प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री बेची लुंगेली,लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी लगायतको जनप्रतिनिधिहरुको आतिथ्यतामा रङ्गशालाको उद्घाटन गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ ।
सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेशसभा सदस्य एवम निवर्तमान मन्त्री लुङ्गेलीले आफ्नो संसदीय क्षेत्र विकास कोषबाट प्रदान गरेको रु १० लाख सहित मधेश प्रदेश खेलकुद मन्त्रालयको रु ६५ लाख,भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १५ लाख र लालबन्दी नगरपालिका १ को रु १७ लाख गरी कुल रु एक करोड सात लाखमा रङ्गशाला निर्माण गरिएको हो ।

सम्बन्धित समाचार