जेन–जी आन्दोलनका कारण मंगलबार दिनभर सर्लाही तनावग्रस्त,अनिश्चित कफ्र्यु आदेश

401 Shares

“जेन जी” आन्दोलनका क्रममा मंगलबार दिनभर सर्लाही पनि तनावग्रस्त बन्यो।आन्दोलनका क्रममा प्रदर्शनकारी तर्फ दुई जना र सुरक्षाकर्मी तर्फ चार जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान सर्लाही सदरमुकाम मलंगवामा भएको प्रदर्शन अन्तर्गत भिड नियन्त्रणका क्रममा नेपाल प्रहरीका चार जना सुरक्षाकर्मी घाईते भएका छन्।घाइते सुरक्षाकर्मीहरुको र आन्दोलनकारीहरुको उपचार भई रहेको छ ।
यस बाहेक “जेन जी” आन्दोलनका क्रममा मंगलबार सर्लाहीमा राज्य र आन्दोलनरत् पक्षबाट अन्य मानवीय हताहती एवम दुर्घटना भएको छैन।आन्दोलनका क्रममा हुलदंगा गरेको आरोपमा सदरमुकाम मलंगवाबाट पक्राउ परेका पाँच जनालाई मंगलबार साँझ सम्झाई बुझाई छाडेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आन्दोलनकारीहरुको भिडले मंगलबार बिहानै सदरमुकाम मलंगवास्थित मलंगवा नगरपालिका कार्यालय,जिल्ला अदालत लगायत सरकारी कार्यालयमा ढुंगामुढासहित तोडफोड गरेका छन् । लालबन्दी,हरिवन,बागमती,हरिपुर,इश्वरपुर र बरहथवा नगरपालिकाका साथै चन्द्रनगर गाउँपालिकामा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका छन् ।त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा समेत आन्दोलनकारीहरुले तोडफोड र आगजनी गरेका छन् ।
आन्दोलनकारीले लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल) र बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालको निवासमा समेत तोडफोड गरेका छन् ।
लालबन्दी नगरपालिका १,२,६ र ७ नम्बर वडा कार्यालयका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही,करदाता सेवा कार्यालय,लालबन्दी पालिका हुलाक कार्यालय लालबन्दी सहित लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी बजारमा रहेको प्रहरी पोष्ट,नवलपुरको चेक पोष्ट र प्रहरीको सरकारी मोटरसाईकलमा आगजनी एवम तोडफोड गरेका छन भने लालबन्दी नगरपालिका ७ स्थित निर्माण गरिएको ववसायिक भवनमा समेत तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै आन्दोलनकारीहरुले हरिवन नगरपालिका ७,८ र ११ को वडा कार्यालय भवनमा तोडफोडसहित आगलागी गरेका छन् ।हरिपूर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साह तेलीको जीप तथा मोटरसाईकल तोडफोडसहित आगजनी भएको छ ।आन्दोलनका कारण पुर्व पश्चीम राजमार्गमा लामो तथा छोटो दुरीका सवारी साधनहरु पुर्ण रुपमा अवरुध भएका छन् ।भने बजारहरु समेत ठप्प भएका छन् ।
यता,“जेन जी”को आन्दोलनका कारण सर्लाहीको कबिलासी नगरपालिकास्थित रहेको प्रहरी चौकी कविलासी विस्थापित भएको छ।आन्दोलन नियन्त्रण बाहिर गएपछि मंगलबारबाट कविलासी प्रहरी चौकीलाई माथिल्लो कार्यालयमा गाभिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
“जेन–जी” पुस्ताले सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कफ्र्यु आदेश जारी गरेको छ ।प्रदर्शनकारीहरुको भिड नियन्त्रण बाहिर गएपछि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
“जेन–जी”आन्दोलनकारीहरुको भिड नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको छ ।प्रदर्शनकारीहरु ढुंगामुढासहित सरकारी कार्यालयहरु तर्फ आक्रामक ढंगले अगाडी बढेपछि स्थिती नियन्त्रणका लागि अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार