कांग्रेस सर्लाहीको प्रदेश क्षेत्रीय अधिवेशन आईतबारबाट सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-४ गते   ७५ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाहीको प्रदेश क्षेत्रीय अधिवेशन आज(आईतबार)बाट सुरु भएको छ । शनिबार लालबन्दीमा निर्वाचन अधिकृत सहित बसेको कांग्रेस नेताहरुको बैठकले आइतबार(आज)बाट क्षेत्र नं. १ र २ मा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने निर्णय गरेपछि नेपाली कांग्रेस सर्लाहीको प्रदेश क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको हो ।
सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्रका क र ख गरेर ८ वटा प्रदेश निर्वाचन क्षेत्र  रहेका छन् । जस अन्तर्गत क्षेत्र नं. १ को बयलवास र लालबन्दीमा, क्षेत्र नं. २ को मलंगवा र पर्सामा प्रदेश क्षेत्रीय अधिवेशन गर्ने निर्णय भएको निर्वाचन अधिकृत धीरेन्द्र चौधरीले जानकारी दिनु भयो ।उहाँका अनुसार क्षेत्र नं. ३ र ४ मा भने विवाद देखिएको छ ।
क्षेत्र नं. ३ मा कुन–कुन ठाउँमा प्रदेश अधिवेशन गराउने भन्ने विवाद छ भने क्षेत्र नं. ४ मा बलरा नगरपालिका ८ र ९ मा अझै वडा अधिवेशन हुन सकेको छैन् । क्षेत्र नम्बर ३ र ४ कोे विवाद मिलाउन आइतबार(आज) बिहानदेखि बयवास र लालबन्दीमा तथा क्षेत्र नं. २ को मलंगवा र पर्सामा नामावली दर्ता गराउने काम भएको नेपाली कांग्रेस स्रोतले जनाएको छ ।
सहमती जुट्न नसकेपछि केही वडाहरु, पालिका, जिल्ला र प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन नगरी सिधै केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने क्षेत्रीय अधिवेशन गरिएको थियो । कांग्रेस निर्वाचन समितिले पुस ६ र ७ गते प्रदेश २ को अधिवेशन गर्ने निर्णय गरेपछि फेरि सर्लाहीमा पनि प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गराउने तयारी सुरु भएको हो । तर जिल्लाका केही वडाहरु, पालिका र जिल्ला अधिवेशन भने कहिले हुने भन्ने निश्चीत भएको छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech