सातवर्षदेखि अलपत्र परेका तामाङको उद्धार

1k Shares

सर्लाहीको हरिवन नगरपालिका ५, घुर्कौलीका रामबहादुर तामाङलाई भारतबाट उद्धार गरिएको छ । हरिवन नगरपालिका ५ घर भएका तामाङलाई भारतको पश्चिम बंगालमा अलपत्र परेको अवस्थामा उद्धार गरिएको हो ।
भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाबाट हरिवन नगरपालिका ५ का तामाङलाई उद्धार गरी सर्लाही ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । भारतबाट उद्धार गरि ल्याइएका तामाङलाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार भारतीय महावाणिज्य दूतावासको समन्वयमा भारतको कोलकातामै रहेको जानकी नेपाली धार्मिक संघले तामाङको उद्धार गरेको हो ।
मानसिक रूपमा अस्वस्थ रहेका तामाङ करिब सात वर्षदेखि बेपत्ता भएको तामाङका परिवारले जनाएका छन् । करिब सात वर्षपछि निकै ठुलो प्रयासबाट तामाङको उद्धार गरेको हरिवन नगरपालिका ५ का वडाध्यक्ष नागेन्द्र साहले बताए । इलाका प्रहरी कार्यालय हरिवनका अनुसार वडाध्यक्ष साहको रोहबरमा तामाङलाई आफन्तको जिम्मा लगाइएको छ ।
तामाङ रहेको स्थानमा पुगेर उद्धार गरी सर्लाही ल्याइएको नेपाली धार्मिक संघको सम्पर्क विभागका प्रमुख हितबहादुर खड्काले बताए । तामाङका आमाबुबाको केही वर्षअघि नै मृत्यु भइसकेको छ । उनका भाइ केही वर्षअघि काम खोज्दै पोखरा गएको र अहिलेसम्म नफर्किएका वडा अध्यक्ष साहले बताए ।

सम्बन्धित समाचार