वि.पी.राजमार्ग मंगलबार साँझदेखि अनिश्चितकालका लागि बन्द

193 Shares

बर्दिवास धुलिखेल वि.पी.राजमार्गमा मंगलबार साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ।मंगलबार साँझ करिब सात बजेदेखि वि.पी.राजमार्गस्थित भकुण्डे–नेपालथोक खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
कार्यालयका अनुसार अहिले काभ्रेको पनौती,नमोबुद्ध,कटुञ्जे,मंगलटार तथा काभ्रे भञ्ज्याङ लगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पु¥याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको हो ।
 सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग सिन्धुलीको नेपालथोक र धुलिखेलको काभ्रे भञ्ज्याङमा रोकेर राखिएको छ।
छिमेकी जिल्ला काभ्रेसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न पनि अपिल गरिएको छ।
यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन वि.पी. राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि सञ्चालनमा ल्याइएको थियो।त्यसबेला पनि दुईतर्फी रूपमा नै सञ्चालन भएको जनाउँदै कार्यालयले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्नसमेत अनुरोध गरेको थियो।
शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो।शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर “डाइभर्सन”बगाएको थियो।जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको थियो।गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवम डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो।

सम्बन्धित समाचार