Close This

युरियार डिएपी मलमा कालोबजारी,सिजनमा मल नपाउँदा जिल्लाका किसान चिन्तीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-११ गते   १९०३ पटक हेरिएको

सर्लाहीका किसानहरु अहिले मलखाद्य नपाएर चिन्तीत बनेका छन् । गहुँ र हिउँदेवालीको लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद्य नपाउँदा किसानहरूले लगाएको वाली बिग्रिन चिन्ता बढेको छ ।
जिल्लामा अहिले गहुँबालीको सिजन रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफुहरुको मेहनत खेर जानेचिन्ता बढेको किसान राम पुकार महत्तोले गुनासो गरे ।उनका अनुसार गहुँबालीमा मल खाद्य हाल्न समय भयो मलखाद्य छैन,मलखाद्य उपलब्ध नहुँदा बाली लगाउने कि न लगाउने भन्ने अन्यौलता छ ।
मल खाद्य नपाएर किसानहरुलाई बाली बिग्रीन्छ की भन्ने चिन्ताले सताएको छ भने यहाँ मलखाद्यका डिलरवालाहरुले मल खाद्य चर्काे मुल्यमा बाहिरै बेच्ने गरेका किसानहरुकोआरोप छ ।
सर्लाहीमा युरिया १ हजार बोरा र डिएपी ८ सय बोरा आयात भएकोमा युरिया प्रती बोरा रु ८ सय १५ र डिएपी मल प्रतिबोरा रु २२ सय ६५ मा सहकारी संस्था मार्फत बिक्री बितरण गरिएको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय सर्लाहीका प्रमुख दिपक थापा मगरले बताउनु भयो ।  उहाँका अनुसार स्थानिय निकायको सिफारिसमा आएका डिलरहरुलाई कार्यालयमा आएको मल दामासाही तरिकाबाट वितरण गरिएको छ ।
सरकारी अनुदान सहितको दर रेट अनुसारनै युरिया मल रु ८ सय १५ र डिएपी मल प्रतिबोरा रु २२ सय ६५ कायम गरि  बिक्री वितरण गरिएको कार्यालय प्रमुख थापा मगरले बताउनु भयो । तर डिलरवालाहरुले सरकारी अनुदानमा पाएको मलखाद्य  चर्काे मुल्यमा बिक्री वितरण गरि रहेको किसानहरुको आरोप छ ।  
सरकारी अनुदानको मलखाद्य जिल्लाका ग्रामीण क्षेत्रमा रहेका किराना पसलदेखि औषधी पसलहरूमा समेत खुलेआम चर्काे मुल्यमा  बिक्री वितरण भईरहेको किसानहरूले बताएका छन् । जिल्लामा सरकारी अनुदानमा आएको युरिया मल अहिले किसानहरु युरिया मल प्रतिबोरा रु १ हजार २ सय देखि रु १ हजार ५ सय र डिएपी मल रु ३ हजार देखि ३ हजार ५ सय सम्ममा किन्न बाध्य भएका छन् ।
कृर्षि सामाग्री कम्पनी लिमिटेडले विक्रि वितरण गरेको मलको वस्तुगत अवलोक तथा अनुगमन गर्नु पर्ने स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालय सर्लाही  निस्कृय भएका कारण अहिले आफुहरुले चर्काे मुल्यमा मल खाद्य खरिद गर्नु परेको उनिहरुको आरोप छ । यता कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय सर्लाही आफुले स्थानिय निकायले सिफारिस गरेका कृषि सहकारीहरुलाई सरकारी दररेटमा मल दिएको बताउँदै अनुगमनको काम आफ्नो नभएको भन्दै पञ्छीने गरेको छ । जिल्लामा रहेका २० पालिकाले सिफरिस गरेको १ सय ७० वटा कृषि सहकारी मार्फत कार्यालयले मल वितरण गरि रहेको छ । 
कार्यालयले  मलखाद्य उपलब्ध गराएपनि  सहज रुपमा मल खाद्य नपाएर  चर्काे मुल्यमा भएपनि खरिद गरेर काम चलाउनु परेको किसानहरूको दुखेसो छ । सर्लाहीमा योसमस्या गहुँबालीकोसिजनमा मात्र नभई धानको समयमा पनि रहेको र अरु सिजनमा पनि जिल्लाका किसानहरुले यस्तै समस्या झेल्दै आएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech