प्रेस चौतारी नेपालको माघ २२ र २३ नवौँ महाधिवेशन , महा सचिवमा सिलवालको दाबी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१६ गते   ८३ पटक हेरिएको


नेकपा (एमाले) को शुभेच्छुक पत्रकार संगठन  प्रेस चौतारी नेपालको नवौँ महाधिवेशन आगामी माघ २२ र २३ गते गण्डकीको पोखरामा हुने भएको छ । चौतारीको भावी नेतृत्व चयन गर्न हुन लागेको नवौँ महाधिवेशनमा वर्तमान नेतृत्व दोहोरिने सम्भावना  पनि छ भने नयाँ नेतृत्वका लागि सरगर्मी शुरु  भएको छ । 
चौतारीका वर्तमान अध्यक्ष गणेश बस्नेतले एक कार्यकाल दोहोर्याउने इच्छा व्यक्तगर्नु भएको छ भने सहमतिको प्रयासका लागि वर्तमान अध्यक्ष बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, पूर्व महासचिव प्रमोद दाहाल, पूर्व वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्य, वर्तमान वरिष्ठ उपाध्यक्ष माधव नेपाललगायतबाट अध्यक्ष चयन हुने सम्भावना देखिएको छ ।
वर्तमान उपाध्यक्ष गणेश पाण्डेले पनि आफ्नो गृह जिल्ला लमजुङका नेता इञ्चार्ज भएको अवसरलाई उपयोग गर्दै अध्यक्षको आकांक्षा जाहेर गर्ने चौतरी स्रोतको दाबी छ । पाण्डे उम्मेदवार भएमा दोस्रो पुस्ताका अन्य धेरै आकांक्षीले पाण्डेलाई चुनौती दिने पनि देखिएको छ । केन्द्रीय सदस्य माधवप्रसाद तिवारीले यसअघि नै सामाजिक सञ्जाल फेसबुकबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । वरिष्ठ उपाध्यक्षमा वर्तमान महिला उपाध्यक्ष टीका विष्ट, पूर्व अध्यक्ष वा अग्रजबाट अध्यक्ष भएमा उपाध्यक्ष पाण्डे, पत्रकार दीपक पाण्डेलगायतले जिम्मेवारी पाउने देखिएको छ । 
निर्वाचन भएमा महासचिवमा वर्तमान उपमहासचिव हीरामान लामा, कोषाध्यक्ष इन्द्र आचार्य, उपत्यका प्रदेशका इञ्चार्ज प्रकाश सिलवाल, पूर्व केन्द्रीय सदस्य चेतन अधिकारीलगायतको प्रतिस्पर्धा हुने चर्चा छ । कोषाध्यक्षमा प्रतिष्ठान इञ्चार्ज हरिबल्लभ नेपाल, एशोसिएट इञ्चार्ज रामेश्वर कार्की, केन्द्रीय सदस्य विष्णु तारुके, मोहराज शर्मालाई अघि सारिने चौतारी स्रोतले जनाएको छ । महासचिवमा वर्तमान उपत्यका प्रदेशका इञ्चार्ज   सिलवालको पनि दाबी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech