माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगायो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२० गते   ४८ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र) ले  राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीका तर्फबाट आज(मंगलबार) पाँच जनाको नामावली टुङ्गो लगाउनु भएको हो ।
प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपाङ्गता अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 
सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही आधारमा अध्यक्षले आज(मंगलबार)उम्मेदवारको टुङ्गो लगाउनुभएको हो । राष्ट्रियसभाको रिक्त हुन लागेको १९ सिटमा आज(मंगलबार) मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको थियो  । आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि माओवादी केन्द्रको तर्फबाट पाँचजनाको नामावली सार्वजनिक भएको हो ।
 सत्तारुढ गठबन्धनले संयुक्त उम्मेदवार खडा गर्ने र संयुक्त रुपमा नै दर्ता गर्ने तयारी समेत गरेका छन् । सोमबार बिहान बसेको गठबन्धनको बैठकले भागवण्डाका आधारमा उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech