सर्लाहीको बरहथवाका विभिन्न तीन अस्पतालको अनुमगन

3.8k Shares

सर्लाहीको बरहथवा नगरपालिकाका विभिन्न स्थानमा सञ्चालीत अस्पतालहरुको शनिबार अनुगमन गरिएको छ ।जिल्लाकै ठूलो व्यापारिक केन्द्र बरहथवाका विभिन्न तीन वटा अस्पतालको शनिबार अनुगमन गरिएको हो ।
बरहथवाका बरहथवा नव जीवन प्रा.लि.,भेनस हेल्थ केयर प्रा.लि. र सर्लाही गोल्डेन हस्पिटलको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवा,सर्लाहीका प्रशाकीय अधिकृत रामनरेश रामले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय सर्लाही सहित सरोकारवालाहरुको  अनुगमन टोलीले बरहथवाका तीन अस्पतालको अनुगमन गरेको हो । अनुगमनको क्रममा बरहथवा नव जीवन प्रा.लि.दर्ता नै नगरी सञ्चालन भएको पाइएको अनुगमन टोलीका संयोजक रामले जानकारी दिनु भयो ।
उक्त अस्पताललाई २ दिनभित्र कागजात पूरा गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नबुझाए अस्पताल नै शिल गर्ने चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । यस्तै, भेनस हेल्थ केयर र सर्लाही गोल्डेन अस्पतालमा औषधी व्यवस्थापन तथा विक्रि वितरण गर्ने तालिम लिएका फर्मासिस्ट नरहेको पाइएकाले दुवै अस्पताललाई क्रमश  ७ दिन र ५ दिनभित्र फर्मासिस्टको कागजात जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बुझाउन भनिएको छ । त्यसैगरी अनुगमनका क्रममा सर्लाही गोल्डेन अस्पतालले बोर्डमा अप्रेसन सेवा भनेर लेखेपनि अप्रेसनको इजाजत भने नलिएको पाइएको छ । यसमा पनि अस्पतालालाई सचेत गराइएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत राम सहित इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख राजेश राय, जिल्ला अस्पताल मलंगवा,सर्लाहीका मेडिकल अधिकृत डा.अविनाश सिंह, खाद्य गुण तथा प्रविधि नियन्त्रण कार्यालय मलंगवाका निरीक्षक जगत प्रसाद चौधरी, नायब सुब्बा शम्भु ठाकुर, कम्प्यूटर अपरेटर मुकेश कुमार यादव, उद्योग वाणिज्य संघ बरहथवाका कोषाअध्यक्ष बैजनाथ दास लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार