सर्लाहीको बसवरिया गाउँपालिका –१ मानपुरमा करिब १० दिन पहिला भएको विभत्स हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।असार ७ गते मध्यरातमा सुतिरहेको अवस्थामा ओछ्यानमै धारिलो हँतियार प्रयोग गरी अन्दाजी ५३ वर्षीय होस नारायण राय यादवको विभत्स हत्या भएको घटनाको अनुसन्धान गर्ने क्रममा करिब १० दिनपछि बसवरिया गाउँपालिका–१ मानपुरका अन्दाजी २५ वर्षीय सन्तोष कुमार रायलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार आफ्नै बुबा र भिनाजुलाई कानुनी फन्दामा फसाउने नियतले अभियुक्त सन्तोषले छिमेकीको क्रूर हत्या गरेको प्रहरीको ११ दिनको प्रारम्भिक अनुसन्धानबाट प्रमाणित भएको छ ।

प्रहरीको प्रारम्भिक सोधपुछमा अभियुक्त सन्तोषले आफ्नो अपराध स्वीकार गर्दै हत्याको मुख्य कारण पारिवारिक रिसिबी रहेको बयान दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रबिन्द्र नाथ पौडेलले जानकारी दिए।उनका अनुसार घटनाको अघिल्लो दिन असार ६ गते घरमा मोबाइलको विषयलाई लिएर अभियुक्त सन्तोषको आफ्नै बुबा श्यामबाबु रायसँग झगडा भएको थियो।
त्यसैगरी बुबा र भिनाजु राम विलासले सन्तोषलाई बेला बेलामा पैसा नदिने गरेको र “सुधार केन्द्र”पठाइदिने धम्की दिने गरेका थिए।सोही रिसको बदला लिन र आफ्नै बुबा र भिनाजुलाई हत्याको मुद्दामा फसाएर जेल कोच्ने गुरुयोजना सहित सन्तोषले निर्दोष छिमेकी होस नारायणको हत्या गरेको स्वीकारेका छन् ।विभत्स हत्या भएको घटनाको अनुसन्धान गरी ११ दिन मै अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएको सर्लाही प्रहरी प्रति भरोसा र विश्वास बढेको स्थानीयले बताएका छन् ।
केही दिनपहिला मात्रै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक पौडेल र प्रहरी नायव उपरिक्षक गौतम सरुवा भई सर्लाही आएका उनीहरुले सर्लाही आएदेखि नै गैर कानूनी तथा अपराधिक गतिविधिहरु न्युनिकरणका लागि आन्तरिक रुपमा विशेष अभियान सञ्चालन गरी अपराधजन्य क्रियाकलापमा संग्लग्नहरु तथा फरार प्रतिवादीहरुलाई धमाधम नियन्त्रणमा लिन थालेपछि अपराधिक मानसिकता भएकाहरुको निद हराम भएको छ ।