आज नाम र राजधानीको खुसीयालीमा र भोलि बलिदानी दिवस मनाउँन सार्वजनिक बिदा

3k Shares

मधेस प्रदेश सरकारले आज(मंगलबार)सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेस भएको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिइएको बताउनु भयो ।
संघिय संरचना स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको हो । सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो। विशेष संसदीय समितिको नामकरण सम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको थियो । प्रदेश सभाको जम्मा १ सय ३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका प्रवक्ता साहले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) र नेकपाण्माओवादी केन्द्र)ले संयुक्त रूपमा गरेको  ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो।  योसँगै संसदीय समितिले प्रस्ताव गरेका नामहरू  ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निष्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गर्नु भएको थियो ।
यसअघि राजधानीका लागि भएको मतदानमा जनकपुर राजधानी प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो। जनकपुर राजधानीको पक्षमा उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये ७८ जनाले पक्षमा मतदान गरेका थिए भने २१ जनाले विपक्षमा मतदान गरेका थिए ।
त्यसैगरी प्रत्येक वर्ष माघ ५ गते सिरहाको लहानमा  रहेको रमेश महतो शहिद पार्कमा बलिदानी दिवस मनाउँने गरिएको भन्दै मधेस प्रदेश सरकारले भोली(माघ ५ ) गतेपनि सार्वजनिक विदाको घोषणा गरेको छ । आफ्नो प्रदेशको नाम मधेस प्रदेश बनाउने मधेस आन्दोलनको क्रममा लहानमा ज्यान उत्सर्ग गर्ने पाँच शहिदको सपना पुरा भएको मधेस प्रदेश सरकारले बताएको छ । मधेस प्रदेश सरकार बनाउन भन्दै चर्किएको आन्दोलनको क्रममा स्व.रमेश महतो सहित ५ जनाको ज्यान गएको थियो । 
सिरहाको लहानमा  रहेको रमेश महतो शहिद पार्कमा बलिदानी दिवस मनाउँन शहिद पार्कलाई जनता समाजवादी पार्टी(जसपा)का नेता कार्यकर्ताहरुले रङगरोङगन र सरसफाई गरेका छन् । मधेस प्रदेश घोषणा भएपछि जसपाका नेताकार्यकर्ताहरुले शहिद पार्कमा दिपावली गरेका छन् भने माघ ५ गते पार्टी अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय नेताहरुले माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको जसपा लहान नगर समितिका अध्यक्ष दिनेश महतोले जानकारी दिए ।
२०६३ माघ ५ गते रमेश महतो सहादात प्राप्त गरेपछि मधेस आन्दोलन उत्कर्षमा पुगेको थियो । आन्दोलनकै क्रममा प्रमोद सदाय, बेचन यादव , विजय सहनी र अनिस अन्सारीकोे प्रहरीको गोली लागेर ज्यान गएको थियो । पाँचै जना शहिदको सम्झनामा लहानको रमेश महतो शहिद पार्कमा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइदै आएको छ ।

सम्बन्धित समाचार