सर्लाहीमा आलु उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलु खेती गर्दै आएका किसानहरुले समयमै रासायनिक मल उपलब्ध नहुँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताएका छन् ।
विगतका वर्षहरू पनि उत्पादन कमै भएको थियो यस वर्ष उत्पादनमा झन कमी हुनु र उचित मूल्य पनि नपाउँदा आफुहरु मारमा परेको बरहथवा नगरपालिका १ हजरियाका किसान रामकुमार नेपालले गुनासो गर्नु भयो ।
बिउ प्रतिकिलो रु २५ देखि ३० मा किनेर रोपेको आलु अहिले रु १५ मा बिक्री गर्नुपरेको किसान राम कुमारले बताउनु भयो । छिमेकी मुलुक भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्थानीय उत्पादनले भाउ नपाएको जिल्लाका आलु उत्पादक किसानहरुको गुनासो छ । लामो समयदेखि व्यावसायिक आलु खेती गर्दै आएका जिल्लाका राम कुमार नेपाल लगायतका किसानहरुले आफुहरुले उत्पादन गरेको आलुले बजार नपाउनुमा भारतिय आलु नेपाली बजारमा सस्तो मुल्यमा भित्रनु रहेको बताएका छन् ।
व्यापारीलाई प्रतिकिलो रु १६ मा खेतबाटै आफुले आलु बेचेको राम कुमार नेपालले बताउनु भयो । उहाँले गत वर्ष १५ कठ्ठामै लगाएको आलुबाट सबै खर्च कटाएर रु १ लाख २५ हजार आम्दानी गर्नु भएको भएपनि यस वर्ष भने उत्पादन समेत कमि भएको र बजार मुल्य पनि कमी आएको हुँदा रु ९० हजारमा चित्त बुझाउनु परेको उहाँले बताउनु भएको छ ।
साथै यो वर्ष आलु खेतीबाट लागत उठाउन समेत मुस्किल परेको अर्का किसान बागमती नगरपालिका ६ राजघाटका किसान पनिलाल रामले बताउनु भयो । उहाँका अनुसार‘गत वर्ष आलु प्रतिकिलो रु २० मा बिक्री गरेका थियौं, यो वर्ष रु १५ बेच्नु प¥यो,’‘आलु लगाउने समयमा युरिया मल नपाएपछि चोरी तस्करी गरेर भारतबाट ल्याएका गुणस्तरहीन मल प्रतिबोरा रु १ हजार ३ सय देखि रु १ हजार ५ सयसम्म किनेर हालेका थियौं तर महँगीको बीउ र मल हालेर फलाएको आलुले उचित मूल्य पाएन दुःख लागेको छ ।’
जिल्लाको बरशथवा नगरपालिकाको हजरिया,राजघाट,बरहथवा,मानपुर,शंकरपुरलगायत क्षेत्रमा व्यावसायिक आलु खेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाव, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ ।
जिल्लाभर १ हजार ४ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुने जिल्ला कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख कमल देव प्रसाद कुशवाहले बताउनु भयो । उहाँका अनुसार जिल्लामा शीत भण्डार नहुँदा भाउ राम्रो नपाएको किसानहरुले गुनासो गर्ने गरेका छन् । जिल्लामा उत्पादन भएको आलु मलंगवा,चपुर,बिरगंज र कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानहरुको गुनासो छ ।
यता,कृषि सामाग्री कम्पनी लिमिटेड शाखा सर्लाहीका अनुसार जिल्लामा मल अभाव नरहेको दाबी छ । जिल्लाका स्थानिय निकायहरुले सिफारिस गरेका सम्बन्धीत स्थानिय निकायका कृषि सहकारीहरुलाई डिलर बनाएर मल वितरण गरि रहेको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा सर्लाहीका कार्यालय प्रमुख दिपक थापा मगरले बताउनु भयो । अनुगनमको पाटो आफुहरुको नरहेको तरआफुहरुले मल वितरणमा कन्जुस्याँई नगरेको उहाँको दाबी छ ।