सिन्धुलीका कुखुरा व्यावसायीहरुले वि.पी राजमार्गमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाएपछि आफुहरु मारमा परेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्।वर्षाका कारण वि.पी.राजमार्गमा सवारी साधन सञ्चालन गर्न जोखिम रहेका कारण भन्दै सिन्धुली र काभ्रे प्रशासनले रात्रीकालिन सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
जसका कारण जीवित कुखुरा ढुवानीमा गम्भीर समस्या देखिएको भन्दै सिन्धुलीका कुखुरा व्यवासायी कृषक तथा सिन्धुली उद्योग वाणिज्य संघले आवश्यक सहजीकरणका लागि भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष अर्जुन श्रेष्ठले बताए ।उनका अनुसार सिन्धुलीबाट काठमाडौँतर्फ कुखुरा ढुवानी गर्ने सवारीसाधन अहिले रात्रिकालीन प्रतिबन्धका कारण दिनको समयमा मात्र सञ्चालन गर्नुपर्ने बाध्यता हुँदा दिउँसोको चर्को घाम,सडकमा हुने सवारी चाप तथा विभिन्न स्थानमा सिर्जना हुने सवारी जामका कारण ढुवानीका क्रममा अत्यधिक कुखुरा मर्ने गरेको गुनासो कृषक तथा व्यवसायीबाट प्राप्त भएपछि प्रशासनको ध्यानाकर्षण गराइएको हो ।
जीवित कुखुरा लामो समयसम्म सवारीसाधन भित्र राखेर ढुवानी गर्दा तापक्रम,हावा आवत जावतको अवस्था र यात्राको अवधि संवेदनशील हुने भएकाले दिउँसो लामो समय सडकमा रोकिँदा क्षति बढ्ने व्यवसायीहरूको गुनासो छ।विशेषगरी सिन्धुली हुँदै राजधानीतर्फ जाने कुखुरा बोकेका पिकअप भेनहरु सडक जाममा लामो समयसम्म रोकिनुपर्दा कृषक र व्यवसायीले प्रत्यक्ष आर्थिक क्षति बेहोर्नुपरेको गुनासो छ।
“रात्रिकालिन समयमा कुखुरा ढुवानी गर्ने सवारी साधनको आवागमनका लागि आवश्यक व्यवस्था तथा सहजीकरण गरिदिन अनुरोध गरिएको छ।संघले सबै प्रकारका सवारी साधनका लागि लगाइएको रात्रिकालिन रोकको औचित्यलाई चुनौती दिएको नभई जीवित कुखुरा ढुवानीको प्रकृति र त्यसबाट कृषक तथा व्यवसायीले व्यहोर्नुपरेको क्षतिलाई ध्यानमा राखेर विशेष सहजीकरणको माग अघि सारेको हो।” सिन्धुली उद्योग बणिज्य संघले जिल्ला प्रशासन कार्यालय,सिन्धुलीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
कुखुरा उत्पादनदेखि बजारसम्मको आपूर्ति शृंखलामा ढुवानी महत्वपूर्ण मानिन्छ।ढुवानीकै क्रममा ठूलो संख्यामा कुखुरा मर्दा त्यसको प्रत्यक्ष असर उत्पादक कृषक र व्यवसायीमा पर्ने संघले जनाएको छ।यस्तो क्षतिले बजार आपूर्ति व्यवस्थापनमा समेत समस्या सिर्जना गर्न सक्ने भन्दै संघले प्रशासनबाट व्यावहारिक समाधानको अपेक्षा गरेको छ ।रात्रिकालीन समयमा कुखुरा बोकेका सवारीलाई नियमनसहित आवतजावत गर्न दिइए ढुवानीमा हुने कुखुराको मृत्युदर घटाउन,कृषक तथा व्यवसायीको आर्थिक क्षति कम गर्न र काठमाडौँतर्फ हुने कुखुरा आपूर्ति थप व्यवस्थित बनाउन सहयोग पुग्ने संघले विश्वास व्यक्त गरेको छ।