लालबन्दी नगरपालिका २ जुटपानीस्थित जुटपानी वर्कशपमा मर्मतका लागि राखिएको मोटरसाइकल चोरी भएको छ । ईश्वरपुर नगरपालिका १२ का अन्दाजी २५ वर्षिय समीर खड्काको मोटरसाईकल मर्मतका लागि सो वर्कशपमा राखिएको थियो ।
वर्कशपमा मर्मतका लागि राखिएको ज ९ प ४५३४ नम्बरको मोटरसाइकल चोरी भएको सूचना पाएपछि प्रहरीले खोज तलास गरेको थियो । माघ २१ गते राति मोटरसाईकल हराएको र माघ २२ गतेबाट प्रहरीले मोटरसाइकल खोजी गर्ने क्रममा राती ९ बजे हरिपुर नगरपालिका ७ को चिताइन टोलमा मोटरसाईकल फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार २२ वर्षिय रविन चौधरीको रविन वर्कशपबाट उक्त चोरी भएको मोटरसाइकल फेला पारेको हो। जसको सबै पाटपुर्जा खोलिएको अवस्थामा प्रहरीले मोटरासईकल फेला पारेको जनाएको छ । प्रहरीले वर्कशप सञ्चालक चौधरीलाई पक्राउ गरी कानूनी कारबाही प्रक्रिया बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
त्यसैगरी मलंगवा नगरपालिकाको कार्यालय परिसरबाट अर्काे मोटरसाइकल चोरी भएको छ ।मलंगवा नगरपालिकाको कार्यालयमा कार्यरत सूचना अधिकृत मलंगवा नगरपाकिला ८ निवासी राजकुमार अधिकारीको मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ ।
दिउँसो कार्यालय समयको बेला कार्यालय परिसरमा पार्किङ गरि राखेको मलंगवा नगरपालिकाको नाममा दर्ता भएको ना १ ब २७४१ नम्बरको मोटरसाईकल चोरी भएको प्रहरीले जनाएको छ ।
निगरानीको लागि कार्यालय परिसमा सिसिटिभी क्यामरा जडान गरिएको छ र रेखदेख लगायतका कामका लागि नगर प्रहरीको साथै कार्यालय सहयोगीहरुको संख्या अरु कार्यालयको भन्दाबढी रहेको भएपनि कार्यालय परिसरबाटै मोटरसाईकल हराउनुलाई शंकाको घेरामा राखिएको छ । हराएको मोटरसाईकलको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।