Close This

सयौँलाई रोजगारी सृजना गर्ने फनपार्क निर्माण निरन्तर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-१ गते   १८६७ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाले नगर फनपार्क निर्माणको लागि पाँच बिगाहा जमिनको व्यवस्थापन गरि फन पार्क निर्माणको काम शुरु भएको छ । दक्षिण यसियाकै ठुलो मानव निर्मित तालको निर्माण गर्दै गरेको बागमती नगरपालिकाले नगर बगैचा पनि निर्माण गरि रहेको छ ।

बागमती नगरपालिका ११ स्थित पुर्व पश्चिम लोकमार्गबाट बागमती नगरपालिका ११ कै फनपार्कसम्म पुग्ने सडकको पनि व्यवस्थापन भइसकेको नगर प्रमुख भरत कुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्ष ०७८÷०७९ मा सडक पनि पूर्णरुपमा निर्माण गरि सक्ने लक्ष्यका साथ काम भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सुव्यवस्थित फनपार्कको निर्माणको काम थालिएको नगरपालिकाले जनाएको छ ।

चुरे पहाडको फेंदी र बागमती नदीको किनारमा व्यवस्थित फनपार्कको निर्माण शुरु भएसंगै व्यावसायीहरुको नजर पनि सो फन पार्क निर्माणस्थल तर्फ पुगेको छ । जहाँ निजी क्षेत्रबाट पनि रिसोर्ट निर्माणको काम शुरु भएको छ । बागमती नदीको किनारमा शान्त ठाउँमा फनपार्कको निर्माण भइरहेकोले वर्षेनी लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने लक्ष लिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताउनु भयो ।

फनपार्कभन्दा पश्चिम छिमेकी जिल्ला रौतहटको पर्यटकिय क्षेत्र नुनथर रहेको र नुनथरमा वर्षेनी लाखौँ पर्यटक आउने गरेकाले नेपाल र भारतका पर्यटकलाई सुविधा सम्पन्न फनपार्क उपलब्ध गराउँदा झन् धेरै पर्यटक आकर्षण हुने विश्वास आफूहरुले लिएको उहाँको भनाइ छ ।

नगरपालिकाले निर्माण गरिरहेको फनपार्क क्षेत्रमा केही बस्ती पनि रहेकोले सबैलाई उचित व्यवस्थापनको काम समेत भई रहेको नगर प्रमुख थापाले बताउनु भयो । सबैलाई व्यवस्थापन गर्दै फनपार्क निर्माणको काम पनि शुरु गर्ने र काम गर्ने क्रममा देखिएका बाधा अडचनहरुलाई पनि हटाउँदै आगामी एक वर्षमा फनपार्क पूर्ण रुपमा निर्माण भई सक्ने नगरपालिकाले जनाएको छ |

फनपार्क निर्माणपछि हजारौँले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने बताउँदै नगर प्रमुख थापाले फनपार्कबाट भरत तालसम्म केबलकार चलाउने र फनपार्कभन्दा माथि चुरेको डाँडामा गौतम बुद्धको प्रतिमा राखिने जस्ता ठूला योजना पनि फनपार्कसंग जोडिएको नगर प्रमुख थापाले जानकारी दिनु भयो ।फनपार्कको निर्माणले रौतहटको नुनथरको पनि पर्यटनमा टेवा पुग्ने विश्वास बागमती नगरपालिकाले लिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech