भन्सार एजेन्टकै कारण भन्सार चुहावट तिब्र रहेको आरोप,आरोपमा सत्यता छैन : तामाङ

208 Shares

नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये भन्सार राजस्व एक हो।कुल सरकारी आम्दानीको करिब ४० प्रतिशत हिस्सा भन्सारबाट उठ्ने गरेको सरकारी तथ्यांकले देखाएको छ।तर यही भन्सार प्रणाली भित्र वर्षेनी अर्बौं रुपैयाँको चुहावट भइरहेको तथ्य पनि फेला परेको छ। पछिल्ला वर्षहरूमा भएका अध्ययन,छानबिन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरूले भन्सार चुहावटमा भन्सार एजेन्टहरूको भूमिकालाई केन्द्रमा राखेका छन्।
आयात–निर्यातकर्ताको तर्फबाट भन्सार कार्यालयमा कागजात पेश गर्ने,वस्तुको विवरण घोषणा गर्ने र कर–शुल्क तिर्ने प्रक्रियामा सहजीकरण गर्ने व्यक्ति वा संस्थाको रुपमा रहेका भन्सार एजेन्टहरु नै भन्सार छलीका कार्यमा सक्रिय रहने गरेका तथ्यहरु फेला परेका छन् ।कानुनतः उनीहरू व्यवसायीका प्रतिनिधि मात्रै हुन्।तर व्यवहारमा उनीहरू भन्सार प्रणालीका “सञ्चालक”जस्तै बन्ने गरेका समेत केही व्यापारीहरु कै गुनासो छ ।
धेरै भन्सार कार्यालयमा एजेन्ट बिनै काम अघि नबढ्ने अवस्था छ।यही अवस्थाले एजेन्टहरूलाई असाधारण शक्ति र पहुँच दिएको छ।राज्यले कुनै सेवा सुविधा पनि नदिने र प्रति सवारी साधनबाट कति सेवा शुल्क वापत कति लिने भन्ने समेत निर्धारण नगरेको अवस्था रहेका कारण एजेन्टहरुले व्यापारीहरुसंग मिलेर परिमाण लुकाउने लगायतका काम पनि गर्ने गरेका एक भनसार एजेन्टले नाम नवताउने सर्तमा बताए ।उनका अनुसार कुनैपनि सवारी साधनहरुबाट कति रकम सेवा शुल्क वापत लिने भन्ने नभएका कारण भन्सार एजेन्टले व्यापारीलाई विभिन्न किसिमका प्रलोभनमा पारेर चर्काे रकम सेवा शुल्क वापत लिने गरेका छन् ।
कसरी हुन्छ भन्सार चुहावट ?
१.वस्तुको गलत घोषणा : एजेन्टहरूले आयात हुने सामानको मूल्य कम देखाउने,गुणस्तर फरक देखाउने वा एचएस कोड परिवर्तन गरेर करको दर घटाउने गर्छन्।
जस्तै: महँगो इलेक्ट्रोनिक सामानलाई “पाट्र्स” देखाउने,तयारी कपडालाई “कपडाको कच्चा पदार्थ”घोषणा गर्ने 
२.तौल र परिमाणमा हेरफेर : कन्टेनरभित्रको सामानको तौल कम देखाउने वा कागजमा भन्दा बढी सामान भित्र्याउने कार्यमा एजेन्टको संलग्नता देखिन्छ।भन्सारका तौल मेशिन, स्क्यानर र निरीक्षण प्रणाली कमजोर हुँदा एजेन्टलाई यो खेल्न सजिलो भएको छ । नेपालका धेरै भन्सार कार्यालयहरुमा तौल मेशिन, स्क्यानर र निरीक्षण प्रणाली नै छैन् ।
३.सेटिङ र मिलेमतो : धेरैजसो भन्सार कार्यालयमा एजेन्ट,भन्सार कर्मचारी र सुरक्षा निकायबीच अघोषित मिलेमतो हुने गरेका कारण राज्यलाई ठूलो भन्सार रकम घाटा लागेको छ ।
४. डिजिटल प्रणालीको दुरुपयोग : नेपालले ब्कथअगमब ध्यचमि जस्ता डिजिटल प्रणाली लागू गरे पनि एजेन्टहरू त्यसका कमजोरी चिर्ने“टेक्निकल एक्सपर्ट”बनेका छन्। गलत इन्ट्री, पछि सच्याउने खेल र प्रणालीमै हेरफेर हुने गुनासो व्यापक छ।
एजेन्ट किन यति शक्तिशाली बने ?
आयातकर्ताको अत्यधिक निर्भरता,सीमित निगरानी र कमजोर अनुगमन,राजनीतिक संरक्षण एजेन्ट संघ–संस्थाको दबाब र कर्मचारी सरुवामा एजेन्टको अप्रत्यक्ष प्रभाव रहेका कारण भन्सार एजेन्टहरु शक्तिशाली बनेका छन्।कतिपय भन्सार कार्यालयमा कुन एजेन्ट “शक्तिशालीे” छ भन्ने आधारमा कामको गति निर्धारण हुने गरेको समेत देखिन्छ।
आन्दोलन र दबाबको राजनीति
जब सरकारले कडाइ गर्न खोज्छ,भन्सार एजेन्टहरू आन्दोलनमा उत्रिन्छन्।भन्सार ठप्प पार्ने, राजस्व संकलन अवरुद्ध गर्ने र सरकारलाई दबाब दिने उनीहरूको रणनीति बारम्बार देखिएको छ।यसले राज्यलाई कमजोर र एजेन्टलाई झन् बलियो बनाएको छ।
राज्यको मौनता र क्षति
शिक्षा,स्वास्थ्य,पूर्वाधार र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा लगानी हुन सक्ने भन्सार राजश्व चुहावटबाट राज्यले वर्षेनी अर्बौं रुपैयाँ गुमाइरहेको छ। तर चुहावटका मुख्य पात्रमाथि कडा कारबाही नहुँदा समस्या जस्ताको तस्तै छ।
समाधान के ?
भन्सार एजेन्ट लाइसेन्स कडाइका साथ समीक्षा,जोखिममा आधारित अनुगमन,एजेन्ट–कर्मचारी सम्पर्क न्यूनिकरण,डिजिटल प्रणालीमा पूर्ण पारदर्शिता,मिलेमतो प्रमाणित भए आजीवन प्रतिबन्ध र आयातकर्तालाई एजेन्ट बिनै काम गर्न सक्षम बनाउने नीति आवश्यक छ ।
त्यस्तै,“एजेन्टले कागजात मिलाउँछ,कर्मचारीले आँखा चिम्लिन्छ,अनि चुहावट मौलाउँछ,” एक भन्सार अधिकृतको भनाइ छ।भन्सार चुहावट केवल प्रणालीको कमजोरी मात्र नभई व्यवस्थित गिरोहको परिणाम हो।जसको केन्द्रमा भन्सार एजेन्टहरू देखिएका छन्।जबसम्म एजेन्टहरूको भूमिकालाई स्पष्ट रूपमा परिभाषित गरी कडाइका साथ नियमन गरिँदैन,तबसम्म भन्सार सुधार नारा मै सीमित हुने जानकारहरु बताउँछन्।राजस्व चुहावट रोकेर राज्यलाई बलियो बनाउनु आवश्यकता रहेपनि एजेन्टहरुलाई नियन्त्रण गर्ने कि राज्यलाई कमजोर बनाइरहने भन्ने विषयमा सरोकारवालाहरु मौन देखिँएका छन् ?
यता,भन्सार एजेन्टहरुमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको वीरगंज भन्सार एजेन्ट संघ पर्साका अध्यक्ष राजमान तामाङले बताए।उनका अनुसार भन्सार एजेन्टहरुलाई राज्यले कुनै सेवा सुविधा नदिएको र भन्सार एजेन्टहरुले कुन व्यापारीसंग कति रकम लिने भन्ने एकिन पनि नगरेका कारण एजेन्टहरुले व्यापारीलाई खुसी पारेर जति लिन पनि पाउने समेत बताए ।तर उनले पहिला हस्तलिखित प्रणाली हुँदा केही भन्सार एजेन्टहरुले बद्मासी गरेका स्वीकार गरे ।

सम्बन्धित समाचार