Close This

कांग्रेस सर्लाहीको नेतृत्वका लागि ९३ पदमै दुवै प्यानलको उम्मेद्वारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-२२ गते   २८४८ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति एवम कार्यसमितिका पदाधिकारी सहित जिल्ला नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ । जिल्ला सभापति सहितको नेतृत्वका लागि संस्थापन शेर बहादुर देउवा र संस्थापन ईतर शेखर कोइराला पक्षले प्यानल नै खडा गरेका छन् ।
जिल्ला सभापतिमा संस्थापन पक्षबाट हालका जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंह तथा संस्थापन ईतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेद्वारी दर्ता गराएका नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । उपसभापतिमा संस्थापन पक्षबाट दुईजना क्रमशः शेख सदहदुल्ला र डा. सरोज कुमार (राजु)को उम्मेद्वारी परेको छ भने संस्थापन ईतरबाट नविन अधिकारी र रविनन्दन् चौधरी (पप्पु)को उम्मेद्वारी परेको छ ।
त्यस्तै सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन ईतरबाट नरेन्द्र भट्टराई र कृष्ण राज रायमाझीको उम्मेद्वारी परेको छ । क्षेत्र नं. ३ हरिवन निवासी कार्की पार्टी भित्र ज्येष्ठदेखि युवाहरुसम्म निकै लोकप्रिय छन् । हरिवन नगर समितिको सचिव समेत रहेका कार्की सानै उमेरदेखि खेलकुद लगायत अन्य क्षेत्र मार्फत पार्टी संगठन विस्तारमा सकृय रहेका छन् भने क्षेत्र नं. २ नोकेल्वा निवासी यादव कांग्रेसमा लडाकु युवाको रुपमा परिचित रहेको छन् ।
त्यसैगरी सहसचिवमा संस्थापन पक्षबाट ईन्द्र योञ्जन र मनोज कुमार कुशवाहा तथा संस्थापन ईतरबाट दिनेश मिश्र र सूर्य खड्काले उम्मेद्वारी दिएका छन् । सभापति र जिल्ला कार्यसमितिको पदाधिकारीसहित ९३ पदमा हुने निर्वाचनमा हरेक पदमा दुवै पक्षबाट उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । ३ हजार २ सय ८५ मतदाता रहेको जिल्लामा सोमबार विहान ९ बजेदेखि ५ बजेसम्म निर्वाचन हुने निर्वाचन समिति सहसंयोजक धीरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
हाल दुवै पक्षले घरदैलो सहित व्यापक प्रचारप्रसार गरिरहेका छन् । गाउँगाउँका नेता एवम नेतृत्व चयनका लागि मतदाता रहेका क्षेत्रीय प्रतिनिधिहरुको घर–घरमा दुवै प्यानलका नेताहरु प्रचार प्रसारमा लागेका छन् ।
२३ गते जिल्ला अधिवेशन भएपछि फागुन २९ देखि ३० गतेसम्म पालिकाहरुको अधिवेशन गर्ने सहमती भइसकेको छ । मंसिर अन्तिममै हुनुपर्ने अधिवेशन कांग्रेस सर्लाहीका दुवै पक्षको विवादका कारण पटक÷पटक सरेको थियो भने दुईजना निर्वाचन अधिकृत अधिवेशन गराउनै नसकेर फर्कीएका थिए । तत्कालिन निर्वाचन अधिकृत दिवाकर राज पाण्डेलाइ कांग्रेस नेता कार्यकर्ताले हातपात समेत गरेका थिए । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech