ठेकेदार फरार हुंदा लालबन्दी नगरपालिकाको भवन अलपत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-४ गते   ४९९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य करीब ५ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण कार्यको ठेक्का लिएको ठेकेदारले २०७३ वैशाखमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र परेको हो ।
लालबन्दी नगरपालिका ८ मा कूल  रु २ करोड १२ लाखमा लोकवीर बेताली, पाँच कुमारी जेभी काठमाडौंले लालबन्दी नगरपालिकाको दुईतले भवन निर्माणको  ठेक्का पारेकोे थियो । विसं २०७२ असार ७ गते भएको सम्झौता अनुसार २०७५ असार मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने सहमति भएकामा सो मिति गुज्रिएको करीब ३ वर्ष हुनै लाग्दा पनि प्रशासनिक भवन निर्माण कार्य अलपत्र परेको लालबन्दी नगरपालिका ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
प्रशासनिक भवन निर्माणको काम छोडेर बेपत्ता भएको ठेकेदार कम्पनीले पटकपटक गरी कूल रु ९७ लाख रकम भुक्तानी लागि सकेको छ । ठेकेदार कम्पनीले २०७२ असोज १७ मा रु ४२ लाख पेश्की लिएको थियो । त्यसपछि २०७२ पुस २७ मा रु ४३ लाख २८ हजार ८३५ र २०७२ फागुन ३० मा रु ११ लाख ७१ हजार १६५ बुझेको नगरपालिकाले जनाएको छ ।
अलपत्र रहेको प्रशासनिक भवन निर्माणको काम शुरु गर्न पटकपटक पत्र काटे पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । 
    उहाँका अनुसार  ठेकेदारले जमानत राखेको भनेको रु ४२ लाख बैंकको रेकर्डमा नभेटिएको भनेर बैंकबाट नगरपालिकामा पत्र आएको छ । 
    काम शुरु गर्न र जमानतको रकम बैंकमा जम्मा गर्न आफूहरुले पटक पटक पत्राचार गरे पनि ठेकेदार कम्पनी सम्पर्कमा आएको नगर उप प्रमुख शान्ती कुमारी लामाले  बताउनु भयो ।
नक्कली कागजात पेश गरी रकम लिएर फरार रहेको भन्दै नगरपालिकाले ठेकेदार कम्पनी विरुद्ध जिल्ला अदालत सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा दायर गरेको थियो । ठेकेदार कम्पनीलाई कार्वाहीका लागि २०७२ फागुन ३० गते प्रहरीमा समेत उजुरी परेको नगरपालिकाले जनाएको छ ।
 यता,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नगरपालिकाले संयुक्त रुपमा विशेष अदालतमा बैक र ठेकेदार कम्पनी विरुद्ध मुद्धा जाहेर गरेको नगरपालिकाले जनाएको छ ।
 अख्तीयारले मुद्दाको टुङ्गो नलागेसम्म अधुरो रहेको प्रशासनिक भवन निर्माणको काम अगाडि नबढाउन निर्देशन दिएको लालबन्दी नगरपालिका ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले बताए ।
   ठेकेदारले काम गरेको भन्दा करिब २५ प्रतिशत बढी भुक्तानी लगेको समेत मूल्यांकन गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो । नगरपालिका÷नगर कार्यपालिकाको बैठकले अधुरो अवस्थामा रहेको प्रशासनिक भवन नजीकै अर्को नयाँ प्रशासनिक भवन निर्माण समेत गरि सकेको छ ।
 पहिलो भवन निर्माण हुँदा पनि नगरपालिकालाई भवन नपुग्ने भन्दै अर्को भवन निर्माण थालिएको भएपनि अर्काे भवन निर्माण भई सक्दा समेत सो भवन निर्माण गर्ने  ठेकेदार सम्पर्कमा नआएका नगरपालिकाले जनाएको छ ।
नयाँ भवन निर्माणका लागि आ.र्व २०७६÷०७७ बाट भुक्तानी गर्ने गरी रु ७१ लाखमा ठेक्का लगाइएको  र भवन निर्माण समेत भई सकेको नगरपालिकाले जनाएको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा भवन निर्माण कार्यमा लागेको रोकावट फुकुवाका लागि अनुरोध गरिएको पनि नगरपालिकाले जनाएको छ । आफूहरुले अहिले सेवा दिइरहेको भवनमा पर्याप्त कोठा नहुँदा काम गर्न असहज भएकाले सेवाग्राहीको गुनासो आउने गरेको नगर प्रमुख खड्काले बताउनु भयो । सो भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर श्रेष्ठले पांच कठ्ठा जग्गा २० फिटको बाटो काटेर दान गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech