सर्लाहीको बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पाेखरेल पक्राउ परेका छन् । सर्लाहीकाे हरिवन नगरपालिका ८ निवासी अर्जुन रायमाझीलाई गोली हान्न ´सुपारी` दिएको आराेप लागेका लेखा अधिकृत पाेखरेल पक्राउ परेका प्रहरीले जनाएको छ ।
हरिवन नगरपालिका-९ नाेचा निवासी ५० वर्षीय पोखरेललाई जिल्ला प्रहरी कार्यालय म्याग्दीकाे टाेलीले आईतबार म्याग्दीबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयाे । उहाँका अनुसार पाेखरेललाई आईतबार राती नै म्याग्दीबाट सर्लाही ल्याईएकाे र म्याद थपका लागि जिल्ला अदालत पेश गरिएको छ ।
गत पुस २२ गते जिल्ला अदालत सर्लाहीले पक्राउ पूर्जी जारी गरेपछि लेखा अधिकृत पाेखरेल फरार भएका थिए । लेखा अधिकृत पाेखरेलकाे याेजनामा आफूलाई गाेली हान्न हरिवनसम्मै ३ जना भारतीय ´सुटर` ल्याएकाे भन्दै व्यवसायी रायमाझीले जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीमा जाहेरी दिएका थिए ।