जिल्लालाई ३ हजार म्यादी प्रहरी आवश्यक तर करिब ११ हजारको आवेदन,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१२ गते   ३९७ पटक हेरिएको

 स्थानिय निकायको निर्वाचन मिति तोकिएपछि म्यादी प्रहरी भर्नाको लागि आवेदन दिनेहरुको भिड लागेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा म्यादी प्रहरीको आवेदन दिनेहरुको  भिड लागेको हो ।
स्थानीय निकायको निर्वाचन २०७९ बैशाख ३० गतेका लागि तोकिएपछि निर्वाचन विशेष सुरक्षाका लागि भन्दै छोटो समयका लागि लिइने म्यादी प्रहरी भर्नाको आवेदन दिन जिल्लाका युवा,युवतीहरुको साथै अधवैशे मानिसहरुको भिड लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताउनु भयो । उहांका अनुसार २०७९ बैशाख ३० मा हुने स्थानिय निकायको निर्वाचनका लागि जिल्लामा ३ हजार ८८ जना म्यादी प्रहरी माग रहेको छ । तर ५ दिन आवेदन खुल्दा १० हजार ८ सय ६० जनाले आवेदन दिएका छन् ।
छोटो अवधिका लागि भएपनि रोजगारी पाउने आशामा म्यादी प्रहरीका लागि आवेदन दिन आउनेहरुको अत्याधिक भीड भएको म्यादी प्रहरी भर्ना छनौट उपसमितिका सदस्य सचिव  प्रहरी निरिक्षक कृष्ण गिरीले बताउनु भयो । उहाँका अनुसार जनशक्ति थोरै चाहिएको र  आवेदन धेरैको परेका कारण छनौट गर्न अत्यन्तै चूनौति हुने देखिएको छ । उहाँले विशेषत बेरोजगारी, न्युन आयस्रोत, कोरोनाको कारण बैदेशिक रोजगारीमा आयको अपचलन, म्यादी प्रहरीको रुपमा सेवा गरेको प्रमाण पत्र प्राप्त हुने जसले‌ गर्दा भविष्यमा बैदेशिक तथा स्वदेशी रोजगारीमा कागजातको रुपमा पेश गर्न पाइने तथा यो समयमा खेतिपातीको काम समेत कम हुने भएकोले  पनि फुर्सदिलो समय रहेको तथा प्रहरी प्रतिको दृष्टिकोण जसले म्यादी प्रहरी भए पश्चात केहि कुरा भएपनि सिक्ने अभिलासा सहित उच्च शिक्षा हासिल गरेका व्यक्तिहरु समेत दरखास्त दिन आएका छन् ।
म्यादी प्रहरीका लागि चैत ६ गते आइतबारदेखि आवेदन लिन सुरु गरिएको र चैत ११ गते बिहीबारसम्म आवेदन लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चैत १३ गते सम्पर्क, चैत १५ देखि २२ गतेसम्ममा छनौट र चैत २८ गतेदेखि प्रशिक्षण गरेर म्यादी प्रहरीलाई निर्वाचनमा खटाइने प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रसाईले बताउनु भयो । म्यादी प्रहरीले ४० दिन कार्य अवधिमा तलब रु ३० हजार २४०, खाना तथा खाजा रु ७ हजार २ सय र पोसाक बापत रु ६ हजार गरि रु ४३ हजार ४४० पाउने छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech