एमाले लालबन्दीद्वारा प्रमुख ९ र उप प्रमुख ११ जनाकाे नाम सिफारिस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-४ गते   १५०७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा(एमाले)बाट ९ जनाकाे नाम सिफारिस भएको छ । आइतबार लालबन्दी नगरपालिका ६, स्थित मदन आश्रीत भवनमा बसेको एमाले नगर कमिटीको बैठकले बैशाख ३० गते हुने स्थानीय निकायकाे निर्वाचनमा पार्टीको तर्फबाट नगर प्रमुख पदका लागि ७ जना पुरुष र २ जना महिला गरी ९ जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको एमाले लालबन्दी नगर कमिटिले जनाएको छ ।नगर प्रमुख पदको उम्मेद्वारका लागि सिफारिसमा पर्नेहरुमा मान बहादुर खड्का, प्रभुनारायण शिवाकोटी (श्याम),बलराम पोखरेल, बेचुराज तिमल्सिना, उज्वल कार्की, उत्पला ढुंगेल, गोविन्द बहादुर महत, नवराज मिश्र र पवित्रा घिमिरे रहेका छन् । सिफारिसमा परेका ९ जनामध्ये मानबहादुर खड्का हाल लालबन्दी नगरपालिकाकाे नगर प्रमुख पदमा बहाल रहेका छन् ।
यस्तै, उप प्रमुख पदका लागि ११ जनाको नाम सिफारिस भएको छ । उप प्रमुख पदमा अनु हाँडा, कुशुम कुमारी घिमिरे (इन्दिरा), गंगाराम महतो, निर्मला कुमारी थिङ, वर्षा कुमारी लामा, मिना देवकोटा, रीता ब्लोन, रुकमणि चौधरी, ललिता कुमारी वान्तवा (शारदा), सरसरी माया थिङ र शान्ति कुमारी लामाको नाम सिफारिस भएको छ । शान्ति कुमारी लामा अहिले लालबन्दी नगरपालिकाकी उप प्रमुख हुन ।
नगर प्रमुख तथा उप प्रमुख पदमा कसैको नाममा पनि सहमती हुन नसकेपछि आकांक्षी सबैको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको एमाले लालबन्दी नगर कमिटीका अध्यक्ष डिल्ली अधिकारीले कमलामाई खबरलाई जानकारी दिनुभयाे । उहाँका अनुसार कसैको पनि नाम पहिलो, दोस्रो, तेस्रो नम्बरमा नभई अल्फावेट अनुसार जसको नाम अगाडि आउँछ, उसैको नाम क्रमैसँग राखेर टिकटका लागि जिल्ला कमिटीमा पठाइएको छ ।
२०७४ सालको निर्वाचनमा अन्य पार्टीका उम्मेद्वारलाई भारी मतान्तरले पराजित गर्दै लालबन्दी नगरपालिकाको नगर प्रमुख र उप प्रमुख एमालेकै उम्मेदवार विजयी भएका थिए । जिल्लाका पालिका स्तरीय कमिटीहरुले धमाधम उम्मेद्वारहरुको नाम जिल्ला कमिटीलाई सिफारिस गरिरहेका छन्।
अहिलेसम्म बागमती नगपालिकाले मात्रै नगर प्रमुख र उप प्रमुखका साथै  र बहुसंख्यक वडाहरुमा एकल नाम सफारिस गरेको छ । ईश्वरपुर नगरपालिकाको नगर प्रमुख पदमा ५ जना र उप प्रमुख पदमा ३ जनाको नाम सिफारिस भएको नेकपा(एमाले) सर्लाहीका अध्यक्ष राज नारायण साहले बताउनु भयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech