Close This

सर्लाहीका २० स्थानिय निकायका १७ जना उम्मेदवार विरुद्ध उजुरी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१५ गते   २०३५ पटक हेरिएको

 सर्लाहीका विभिन्न स्थानीय निकायका  १७ जना उम्मेदवार विरुद्ध  उजुरी परेको छ । सबैभन्दा धेरै जिल्लाको बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका ७ जनाविरुद्ध उजुरी परेको हो ।  बागमती नगरपालिकामा ४ जना उम्मेदवार विरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनुभयो ।  जिल्लाको बलरामा दुई तथा लालबन्दी, कविलासी, रामनगर र ब्रम्हपुरीमा एकरएक वटा उजुरी दर्ता भएका छन् । ती उजुरीहरुमाथि विहिबार साँझसम्म छानबिन गरेर सकिने र दोषी प्रमाणित भए उम्मेदवारी रद्ध गरिने  मुख्य निर्वाचन अधिकृत पियाले जानकारी दिनुभयो । 
 जिल्लाको बलरा नगरपालिकाका नगर प्रमुखका उम्मेदवार अभय कुमार सिंह र बागमती नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार भरत कुमार थापा विरुद्ध उजुरी परेको हो । अन्य पालिकामा पनि विभिन्न उम्मेद्वारहरु विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बागमती नगरपालिकाका निवर्तमान नगर प्रमुख थापा विरुद्ध प्रहरीको कार्बाहीमा मारिएका कुमार पौडेलका बुबा खीलक राज पौडेलले उजुरी दिएका हुन् । पौडेल कार्बाही घटनामा मृतक पौडेलका बुबा खीलकले दिएको किटानी जाहेरीमा निवर्तमान नगर प्रमुख थापाको नाम समेत भएको र सर्बोच्च अदालतले समेत छानविन गर्न आदेश दिएको उल्लेख गरिएको छ । यसअघि स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मेयरमा जीतेका थापाले यो पटक पनि माओवादीबाटै मेयरमा उम्मेद्वारी दिएका छन् ।
त्यस्तै बलरा नगरपालिकाका निवर्तमान नगर प्रमुख सिंह विरुद्ध पनि उजुरी परेको छ । जनमत पार्टीबाट मेयर पदक उम्मेदवार  सिंह विरुद्ध बेरुजु तिर्नुपर्ने र पेश्की फछ्र्यौट गर्नुपर्ने भन्दै उजुरी परेको हो। महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरपालिकाको लेखापरीक्षण प्रतिवेदन अनुसार रु ११ करोड ८० लाख १८ हजार बेरुजु देखिएको र रु ५ करोड ३६ लाख ८४ हजार  भने असुल नै गर्नुपर्ने उल्लेख गरिएको छ ।
 मेयर पदका उम्मेद्वार सिंह र अर्का एकजना वडाध्यक्ष विरुद्ध उजुरी परेको बलराका निर्वाचन अधिकृत रंजित कुमार यादवले जानकारी दिनुभयो  । विहिबार साँझसम्म उजुरी उपर छानविन गरी निर्णय गरिने उहाँले बताउनुभयो ।
 सिंह यसअघिको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीको तर्फबाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित हुनु भएको थियो। सिंहले यो पटक लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा उम्मेद्वारी दिनु भएको छ ।
त्यस्तै चन्द्रनगर गाउँपालिकामा पनि ३ जना उम्मेदवारविरुद्ध उजुरी आएको भएपनि रितपूर्वक नआएकाले त्यहाँ कुनै पनि उजुरी दर्ता भएको छैन् । वैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरुद्धमा बैशाख १४ मा दावी विरोधको उजुरी गर्ने समय दिइएको थियो ।
नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको उम्मेदवारमाथि उजुरी दिन सकिन्छ । यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने व्यक्ति पनि उम्मेदवार हुन पाउँदैनन् । जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिएको भए सो उम्मेदवारी पनि रद्द हुन सक्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech