नेपाली कांग्रेस सर्लाहीले गत वर्षको चक्कु प्रहार घटनामा राजनीतिक दबाबका आधारमा मुद्धा अगाडि बढाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ।कांग्रेस सर्लाहीले एक विज्ञप्ति जारी गर्दै २०८१ चैत्र १ गतेको दिन बसबरिया गाउँपालिका २ मानपुरमा भएको घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा.सरोज कुमार राय यादवले जानकारी दिए ।
उनका अनुसार करिब एक वर्षअघि भएको घटनालाई लिएर हालै निर्वाचित जनप्रतिनिधिको दबाबमा परेर प्रहरी प्रशासनले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।घटना सम्बन्धी यथार्थ अनुसन्धान नगरी पूर्वाग्रही ढंगले कागजात तयार गरी निर्दोष व्यक्तिलाई फसाउन खोजिएको विज्ञप्तीमा दाबी गरिएको छ।
कांग्रेस सर्लाहीले उक्त घटनालाई “निन्दनीय”भन्दै सत्य तथ्य छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न माग गरेको छ।साथै दोषी पहिचान गरी कानूनी दायरामा ल्याउन र निर्दोषलाई न्याय दिन सरकार समक्ष जोडदार आग्रह गरिएको छ।यदि यथाशीघ्र निष्पक्ष छानबिन समिति गठन नभए चरणबद्ध आन्दोलनमा उत्रने नेपाली कांग्रेस सर्लाहीले चेतावनी समेत दिएको छ।
तर आफूलाई ज्यान मार्ने उद्देश्यले चक्कु प्रहार गर्नेहरू विरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि प्रहरीले कारबाहीमा ढिलाइ गरेको पीडित पक्षको आरोप छ ।अदालतले पक्राउ पुर्जी जारी गरि सकेको भएपनि पीडकलाई पक्राउ गर्न ढिलासुस्ती गरिएको भन्दै घाइते मुकेश कुमार ठाकुर जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेका छन् ।
२०८१ चैत १ गते साँझ करिब ८ बजेको समयमा बरबरिया गाउँपालिका २ मानपुर व्यारेज नजिकको सडकमा आफुमाथि चक्कु प्रहार भएको र त्यसपछि नारायणी अस्पताल वीरगन्ज पर्सामा सामान्य उपचारपछि नेशनल मेडिकल कलेजमा पठाईएको घटनाको सम्बन्धमा आफुहरुले इलाका प्रहरी कार्यालय बरहथवामा जाहेरी दिँदा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको पीडित पक्षको आरोप छ ।

पीडितका अनुसार ईलाका प्रहरी कार्यालय बरहथवाका तत्कालीन प्रहरी प्रमुख एवम प्रहरी नायव उपरीक्षक गौतम थापाले घटनालाई ढाकछोप गर्ने प्रयास गरेपछि हुलाक मार्फत मुद्धा दर्ता गराउन खोज्दा प्रहरीले हुलाकको रजिस्ट्री पत्रलाई पनि अस्वीकार गरेको थियो ।
त्यसपछि पीडितका भाइ मुनेक ठाकुर २०८२ बैसाख ७ मा उच्च अदालत जनकपुर पुगेर उजुरी दर्ता गरेपछि धनकौल गाउँपालिका ३ का सुरेन्द्र प्रसाद सिंह अर्का गजेन्द्र साह,निकेश त्रिपाठी,सुधीर सहनी, हरिन्द्र महतो,अमित सहनी,होरिल सहनी,रामनारायण सहनी,चुनचुन सहनी र सोनुकुमार सहनीलाई प्रतिवादी बनाई निजहरुलाई पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाउन आदेश गरेको थियो।
उच्च अदालतको आदेशपछि ईलाका प्रहरी कार्यालय बरहथवाले गत असोज १४ गते जाहेरी मुद्धा दर्ता गरेको थियो तर उनीहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै पीडितले प्रमुख जिल्ला अधिकारीसंग गुहार मागेका हुन।मुद्धा दर्ता गरेर पक्राउ पुर्जी जारी भइसक्दा पनि शक्ति र पहुँचवालाको नाममा आरोपीहरुलाई पक्राउ नगरिएको पीडितको आरोप छ ।