नेपाल रेडक्रस सोसाइटी शाखा सर्लाहीको निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुने भएको छ ।रेडक्रस जिल्ला सभाको ४४ औँ अधिवेशनमा शुक्रबार नेतृत्व चयनका लागि गरिएको सहमतीको प्रयास असफल भएपछि शनिबार निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयनको काम हुने प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।उनका अनुसार नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत हुन नसकेपछि शनिबार निर्वाचन मार्फत नयाँ नेतृत्वको टुंगो लग्ने भएको हो ।
जसका लागि रेडक्रस जिल्ला शाखा सर्लाहीको सभापतिका लागि निवर्तमान सभापति नागेन्द्र प्रसाद चौधरी र अर्का हरिकान्त लाल कर्ण तथा उपसभापतिका लागि विश्वनाथ ठाकुर र सेख सहदुल्लाहको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । रेडक्रस जिल्ला शाखा सर्लाहीको मन्त्री पदमा भने राजनकुमार सिंह सर्वसम्मत रुपमा चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा शम्भु कुशवाहा र उमेश मिश्र,सहमन्त्रीमा मुकेश मिश्र र ऋषी शर्माको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।निर्वाचनमा विभिन्न शाखा तथा उपशाखाबाट छानिएर गएका एक सय ७३ जना प्रतिनिधिहरुले मतदान गर्ने छन् ।अधिवेशनको शुक्रबार जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी श्रेष्ठको विशिष्ठ आतिथ्यता र विभिन्न पालिकाका प्रमुख तथा राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिहरुको उपस्थितिमा उद्घाटन गरिएको थियो ।