सर्लाहीका २० स्थानिय निकायका १ सय ३ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । जिल्लाका यातायातको सुविधा नभएको,भूगोलको विकटता र विगतका निर्वाचनमा दलहरुबीच भएका झैझगडा, विवाद लगायतलाई आधारमा १ सय ३ वटा मतदान स्थल अति संवेदनशील देखिएका मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले बताउनु भयो । उहाँका अनुसार देशभरमै सबै भन्दा धेरै २० वटा स्थानिय निकाय रहेको सर्लाहीमा २ सय ५ मतदान केन्द्र रहेका छन्। जस मध्य १ सय ३ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन ।
अति संवेदनशील मतदान स्थलहरु अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । जिल्लामा १ सय ८४ वटा मतदानस्थल संवेदनशील छन् । संवेदनशील रहेका १ सय ८४ वटा मतदान स्थलमा ३ सय ३९ वटा मतदान केन्द्र रहेका छन्। जिल्लाको ३१ वटा मतदान स्थल सामान्य रहेका जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले बताउनु भयो ।
३१ वटा सामान्य मतदान स्थलमा ५५ वटा मतदान केन्द्र रहेका छन्। मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलतालाई विश्लेषण गरी सोही अनुसार आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।
बैशाख ३० गतेको स्थानिय निकायको निर्वाचनका लागि जिल्लाभर ३ सय १८ वटा मतदानस्थल र ५ सय ९९ वटा मतदान केन्द्र कायम गरिएको छ । २०७४ सालको निर्वाचनमा पनि जिल्लामा मतदानस्थल ३ सय १८ वटै रहेका थिए । यो पटक मतदान केन्द्र भने ५ सय १८ बाट थपेर ५ सय ९९ पु¥याइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले बताउनु भयो ।उहाँका अनुसार मतदाता बढेका कारण मतदान केन्द्रहरु थप गरिएको हो ।