सर्लाहीमा निर्वाचन आचार सहिता विपरित चुनाव प्रचार प्रसार,निर्वाचन कार्यालय मौन

2.3k Shares


स्थानीय निकायको निर्वाचनको प्रचार प्रसार देशैभर तातेको छ । स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उम्मेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त रहेका छन् । 
निर्वाचन आयोगले उम्मेदवार र दलहरुलाई स्पष्ट रुपमा आचार संहिताको जानकारी गराउँदै पालना गर्न निर्देशनसमेत दिइसकेको छ । साथै निर्वाचन आयोगलगायत विभिन्न संघ÷संस्थाहरुले पनि उम्मेदवार र दलहरुले आचार संहिता पालना गरे नगरेको स्वतन्त्ररुपले अनुगमन पनि गरिरहेका छन् । 
तर सर्लाहीका विभिन्न स्थानमा विभिन्न पार्टीले र उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको खुलमखुल्ला धज्जी उडाउँदै प्रचार प्रसार गरिरहेका छन् । नेपाली कांग्रेस,नेकपा(एमाले),नेपाल(माओवादी केन्द्र),नेकपा(एकिकृत समाजवादी),जसपा,राजपा र राप्रपा लगायतका दलहरु र उसका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित गाडी पूरै ढाक्ने गरी चुनाव चिन्ह,झण्डा,व्यानर र उम्मेदवारको फोटो अंकित फ्लेक्स व्यानर लगायत निर्वाचन प्रचार प्रसार सामाग्रीको खुलेर प्रयोग गरि रहेका छन् ।
नेपाली कांग्रेस,नेकपा(एमाले),नेपाल(माओवादी केन्द्र),नेकपा(एकिकृत समाजवादी),जसपा,राजपा र राप्रपा लगायतका दलहरु र उसका उम्मेदवारहरुले आफ्नो दलको चुनाव चिन्ह सहितको उम्मेदवारको फोटो भएको फ्लेक्स व्यानर र भारतिय नम्बरका सवारी साधनहरुको समेत प्रयोग गरिरहेका भएपनि जिल्ला निर्वाचन कार्यालय सर्लाही,मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतका कार्यालयहरु र निर्वाचन अधिकृतहरु मौन बसेका छन् । विभिन्न दलहरुले उम्मेदवारहरुको फोटो सहित निर्वाचन पछि आफ्ले गर्ने कामहरुको समेत प्रचार सामाग्री बनाई सार्वजनिक स्थलहरुमा समेत राखेको स्पष्ट देख्न सकिन्छ । 
निर्वाचन आचार संहिता २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा(ड)र(ढ)मा उम्मेदवारहरुको वा दलको चुनाव चिन्ह वा झण्डा अंकित लोगो व्यानर, डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड टिसर्ट आदि प्रयोग गरेर प्रचार गर्न नपाउने स्पष्ट उल्लेख गरिएको भएपनि जिल्लाका राजनैतिक दलहरुले त्यसलाई वेवास्था गर्दै निर्वाचन आचार संहिताको  ठाडै उल्लंघन गरेका छन् ।
त्यसैगरी दफा १३ मा उम्मेदवारहरुले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारी साधन निर्वाचन आयोगको कार्यालयबाट अनुमति लिई मात्रै प्रयोग गर्न पाउने प्रावधान राखिएको छ । त्यसैगरी ती सवारी साधनको स्वरुप परिवर्तन गरेर  वा ढाक्ने गरी प्रचार सामग्री राख्न नपाइने आचार संहितामा उल्लेख गरिएको भएपनि निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय वेखबर बनेका छन् । निर्वाचन आचार संहिता उल्लंघन गरेको पाइएमा तत्काल त्यसलाई रोक्न लगाउने वा अटेरी गरेमा उम्मेदवारी रद्ध र जरिवाना हुने व्यवस्था समेत उल्लेख गरिएको छ । 
यता,जिल्लाका राजनैतिक दलहरुले निर्वाचन आचार संहिता उल्लंघन गरेका आफुहरु कहाँ आधिकारीक निवेदन वा उजुरी आइनपुगेको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले बताउनु भयो । उहाँले निर्वाचन आचार संहिता उल्लंघन गरेको आधिकारीक निवेदन वा उजुरी नआएका कारण आफुले कुनै कार्बाही गर्न नसक्ने बताउनु भयो । तर उहाँले निर्वाचन आचार संहिता बारे आफुले सरोकारवाला निकायलाई जानकारी गराएको र पटक पटक छलफल समेत गरेको बताउनु भयो ।  तर जिल्लाका राजनैतिक दलका उम्मेदवारहरु अहिले धमाधम योजनाका कामको सिलान्यास तथा निर्माण कार्यमा व्यस्त रहेका छन् । 

सम्बन्धित समाचार