बैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचन अन्तर्गत विभिन्न पार्टीहरु र उसका उम्मेद्वारहरुको प्रचार प्रसारका लागि सार्वजनिक स्थलमा टाँगिएका पोष्टर पम्प्लेट तथा पार्टीका झण्डाहरु हटाउन सुरु गरिएको छ ।
बुधबार बसेको निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले त्यस्ता सामग्री हटाउने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत एवम कार्यालय प्रमुख दिवाकर भुजेलले जानकारी दिनु भयो । उहाँका अनुसार सुरक्षाकर्मीहरु सहितको टोलीले जिल्लाका सार्वैजनिक स्थानहरुमा टाँगिएका पोष्टर,पम्प्लेट,व्यानरहरु तथा पार्टीका झण्डाहरु हटाउन सुरु गरिएको हो ।
जिल्लाका राजनीतिक दलका प्रमुख तथा उम्मेदवारहरुले पनि पार्टी कार्यालयबाहेक सार्वजनिक स्थलहरुमा राखिएका निर्वाचन प्रचार प्रसार सामग्री हटाउने प्रतिवद्धता व्यक्त गरपछि हटाउन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनु भयो । उहाँका अनुसार बैठकमा सहभागी जिल्लाका क्रियाशील प्रमुख राजनीतिक दलका उम्मेदवारहरुले सार्वजनिक स्थलहरुमा राखेको पार्टीको झण्डा, ब्यानर, तुललगायतका प्रचार प्रसार सामग्री हटाउने प्रतिवद्धता जनाएका हुन । बिजुलीको पोल, विद्यालय, चोक चौराहा लगायतका सार्वजनिक स्थलहरुमा निर्वाचन आचारसंहिता विपरीत राखिएको निर्वाचन प्रचार प्रसार सामग्रीहरु दलहरु आफैले नहटाए सुरक्षाकर्मी लगाएर हटाउने र त्यसमा दलहरुको तर्फबाट कुनै अवरोध नगर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत पियाले बताउनु भयो । जिल्लामा अहिले प्रत्येक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवाहरुले चोकचौरा सबैतिर झण्डा, ब्यानर, तुल टाँगिरहेका छन् । ती सामग्री अब उम्मेदवार र दल स्वंयले नहटाएमा सुरक्षाकर्मी प्रयोग गरेर हटाउने निर्णय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।